
पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ खामेलकमा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
आइतवार दिउँसो करिब ४ बजे आफ्नै घरको आँगनमा ३६ वर्षीय प्रेमराज आङदेम्बेमाथि छुरी प्रहार हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक प्रेमराज आङदेम्बे स्थानीय वर्ण सिंह आङदेम्बेका भतिजाका छोरा हुन्।
प्रहरीका अनुसार ८२ वर्षीय वर्ण सिंह आङदेम्बेले छुरी लुकाइदिएको विषयलाई लिएर उत्पन्न विवादका क्रममा प्रेमराजमाथि छुरी प्रहार गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी आङसाराङबाट खटिएको टोलीले घटनास्थल पुगेर छुरीसहित अभियुक्तलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार प्रहरी नायब उपरीक्षक अनिश कुमार कर्णको कमाण्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएर थप अनुसन्धान अघि बढाइएको छ।
मृतकको शव कानुनी प्रक्रिया पूरा गरी साँझ ९:२० बजे जिल्ला अस्पताल पाँचथर, फिदिम ल्याई शवगृहमा सुरक्षित रूपमा राखिएको छ। अभियुक्तलाई स्वास्थ्य परीक्षणपछि जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।



















































