
इलामः जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानको आयोजनामा शनिबार इलाम नगरपालिकाको सभाहलमा प्रतिभा तथा योगदानकर्ताहरूलाई सम्मान गर्ने भव्य कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष गोपाल बस्नेतले गरेका थियो भने सञ्चालन सचिव विमल वैधले गरेका थिए । कार्यक्रममा प्रतिष्ठान इलाम शाखाका अध्यक्ष बासुदेव बस्नेतको विशेष उपस्थिति रहेको थियो।
प्रमुख अतिथिका रूपमा बसन्त क्षेत्री सहभागी थिए भने विशिष्ट अतिथिहरूमा इलाम नगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, पूर्व संविधानसभा सदस्यहरू, कोशी प्रदेश सांसद शमशेर राई, इलामका विशिष्ट नागरिक युद्धप्रसाद वैधलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सुरुवात स्वागत मन्तव्य सोम सुसेली (अधिकारी)ले राखेको कार्यक्रममा इलामका गायक पुजन प्रधानले राष्ट्रिय गीत प्रस्तुत गरे ।
यसैबीच विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याएका व्यक्तित्व तथा प्रतिभाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। मधु जनक उत्कृष्ट विद्यार्थी विज्ञान पुरस्कार आदर्श माध्यमिक विद्यालय, इलामका पूर्व विद्यार्थी समिक्स राउतलाई प्रदान गरियो। रामहरी–नारायण उत्कृष्ट शिक्षक सम्मान इलाम नगरपालिका–९ स्थित भगवती माध्यमिक विद्यालय गोलाखर्कका निमावि शिक्षक छत्र तामाङलाई प्रदान गरियो। भृकुटी–शिवमाया लक्ष्मण अग्रणी महिला सम्मान रोङ गाउँपालिकाकी पूर्व उपाध्यक्ष चन्द्रकला राईलाई खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप प्रदान गरियो।
त्यस्तै उदय रत्न–सावित्री उत्कृष्ट कृषक सम्मान देउमाई नगरपालिका–८ निवासी टेकप्रसाद खनाललाई प्रदान गरियो भने कृष्ण विनोद इलाम सृजना सम्मान सूर्योदय नगरपालिका–२ बौद्धधाम निवासी इलामका अग्रज गायक कुबेर राईलाई प्रदान गरियो। पदम देवान–पूर्ण टुङ्ग आदर्श नागरिक सम्मान इलामका अग्रज गुरु तथा राजनीतिज्ञ कुलबहादुर गुरुङलाई प्रदान गरिएको थियो। उनको अनुपस्थितिमा प्रतिनिधिका रूपमा बबिता लिङ्गदमले सम्मान ग्रहण गरिन् ।
यसैगरी गजराज खम्बा सिंह–जानुका देवी आदर्श समाजसेवी सम्मान स्वर्गीय धर्मप्रसाद ढकालको स्मृतिमा उहाँका सुपुत्र खगेन्द्र ढकाललाई प्रदान गरियो। जगत–गङ्गा मदन लिलामाया–देवकुमारी आदर्श शिक्षक सम्मान इलाम नगरपालिका–९ निवासी उमाराम प्रसाईंलाई प्रदान गरिएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले व्यक्त गर्नुभएको थियो भने सम्मानितको तर्फबाट खगेन्द्र प्रसाद ढकालले धारणा राखिन् कार्यक्रमले इलाम जिल्लामा शिक्षा, साहित्य, संगीत, कृषि, खेलकुद, समाजसेवा र नागरिक योगदानको कदर गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने आयोजकको विश्वास रहेको छ।



















































