
इलाम/पाँचथरः घुर्बिसे पञ्चमी बजार व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ । बजारबासी तथा सरोकारवालको भेलाले जितेन चेम्जोङलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमिति गठन गरिएको सचिव प्रकाश कट्टेलले जानकारी दिए । इलाम–पाँचथर सिमानामा अवस्थित र दुबै जिल्लाका लागि महत्वपूर्ण व्यापारिक केन्द्र मानिने घुर्बिसे बजार व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र समन्वित बनाउने उद्देश्यले यस पटक समितिको पुनर्गठन गरिएको जनाइएको छ ।
अध्यक्षमा निर्वाचित भएपछि चेम्जोङले बजार व्यवस्थापनलाई आधुनिक, सुरक्षित र सर्वसुलभ बनाउन आफू प्रतिबद्ध रहेको बताए। स्थानीय व्यवसायीको हित संरक्षण, उपभोक्ताको सुविधाको प्रत्याभूति र बजार विकासका दीर्घकालीन योजनालाई चरणबद्ध रूपमा अघि बढाउने योजना उनले सार्वजनिक गरे। “बजारको समृद्धि सबैको सहकार्यबाट मात्र सम्भव छ, त्यसैले हामी सबै सरोकारवालाको साथमा अघि बढ्छौँ,” उनले भने।
नयाँ कार्यसमितिमा उपाध्यक्षका रूपमा चन्द्र राई, सचिवमा प्रकाश कट्टेल र कोषाध्यक्षमा प्रतिमा आङ्देम्बे (तारा) चयन भएकी छिन्। त्यस्तै घनेन्द्र चेम्जोङ, करण नेम्वाङ, डिल्ली बस्नेत, युवराज चेम्जोङ, एल.बी. रहपाल, रीता महते नेपाली र दुर्गा निरौला सदस्यका रूपमा चयन गरिएको छ। अग्रज अभिभावक तथा घुर्बिसे खानेपानी वितरण समिति अध्यक्ष कृष्णबहादुर सम्वाहाम्फे लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा फाल्गुनन्द–५ का वडाध्यक्ष विष्णुकुमार चेम्जोङ, वडासदस्यहरू घनेन्द्र चेम्जोङ र अर्जुन चेम्जोङ, फाकफोकथुम–१ का वडाध्यक्ष कर्णबहादुर थेगिम, सदस्य कमानसिं सम्वाहाम्फे, गोमा देवी भट्टराई, सीता बराइली, कार्यपालिका सदस्य रीता महते नेपाली, पूर्व वडाध्यक्ष टेकबीर नेम्वाङ लगायत स्थानीय व्यापारी तथा बजारवासीको उल्लेखनीय उपस्थिति थियो।

सभामा सहभागीहरूले बजार क्षेत्रको सरसफाइ, यातायात व्यवस्थापन, पर्व–मेलामा चहलपहल वृद्धि र स्थानीय उत्पादनको प्रवर्द्धनलाई नयाँ नेतृत्वले प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा व्यक्त गरे। नवगठित समितिले दुबै जिल्लाका स्थानीय तहसँग समन्वय गरी बजारको अल्पकालीन र दिर्घकालीन विकासको खाका तयार गर्ने साथै बजारलाई सु–व्यस्थित गर्न अधिकतम् प्रयास गर्ने बताएका छन् । शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासनसँग सदैव सहकार्य गर्ने र विगत केही वर्षदेखि दर्ता निस्क्रिय भई अवैधानिक अवस्थामा रहेको बजारलाई समय अवधिभित्र वैधानिक प्रक्रियामा लैजान जिल्ला प्रशासन कार्यलयमा आवश्यक कदम चाल्दै तदर्थ समितिले अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको समितिका सचिव कट्टेलले जानकारी दिए । निर्माणाधीन राँके-रवि-भेडेटार सडक अन्तर्गत घुर्बिसे बजारमा विविध कारणले लामो समयदेखि रोकिएको निर्माण कार्यलाई अगाडी बढाउन यस समितले तत्काल वातावरण तयार गर्ने जनाएको छ ।

समुन्द्री सतहबाट एक हजार नौ सय ५० मिटरको उचाईमा रहेको यो बजार दुबै जिल्लाको निकै चर्चित व्यापारिक केन्द्रको रूपमा परिचित छ । गाई–बस्तुले घाँस खानमा प्रयोग हुने पहाडमा पाइने घुर्बिस नामको बोटहरुले ढाकेको यो ठाउँ विक्रम सम्वत् १९८६ सालदेखि पाक्षिक रुपमा पञ्चमी तिथिको दिन हटिया लाग्ने भएकाले घुर्बिसे पञ्चमी नामाकरण रहन गएको स्थानीय वृद्धहरु बताउँछन् । यो बजार द्वन्द्वकालको समयपछि प्रत्येक महिनाको १३ र २९ गते हटिया लाग्दै आएको छ । पछिल्लो समयमा कोरोना महामारीका कारण ठप्प बनेको बजारमा आजभोलि सामान्य चलपल शुरु भएको छ ।




















































