
इलाम : मेची राजमार्गको माईखोला राजदुवाली खण्डमा बारम्बार पहिरो र सडक भासिँदा इलामवासीको दैनिक जीवन नै प्रभावित भइरहेको बेला अब वैकल्पिक द्रुतमार्ग निर्माणको आवश्यकता तीव्र रूपमा अनुभव गरिएको छ । असोज १८ गतेको बाढी–पहिरोपछि पटकपटक राजदुवाली माईखोला- इलाम सडक खण्ड अवरुद्ध हुँदा जिल्लाको प्रमुख यातायात सम्पर्क टुटेपछि ‘इलाम–भञ्ज्याङ–पुवा खोला–बेलासे–दानावारी–बिर्तामोड’ फास्ट ट्र्याकको माग पुनः बलियो बनेको छ ।
हाल इलाम सदरमुकामदेखि बिर्तामोडसम्मको दूरी करिब ८६ किलोमिटर छ, जुन पार गर्न औसतमा ३ घण्टा भन्दा बढी लाग्छ। प्रस्तावित फास्ट ट्र्याक(केचना कन्चनजङ्गा)मार्ग सञ्चालनमा आएपछि दूरी घटेर करिब ४७ किलोमिटर र यात्रा समय झन्डै १ घण्टामा सीमित हुने अनुमान गरिएको छ ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार, सडकको अवस्था ठिकै छ, कालोपत्रे कामका लागि ठेक्का लागेर कामपनी भइरहेको छ तर पुवाखोला र माईखोलाको बेलासेमा स्थायी पुल निर्माण नगरी तत्काल सडक सन्चालन हुने अवस्था छैन । भट्टराईले भने “स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय भयो भने यी ठाउँमा पुल निर्माण गर्न सजिलो हुनेछ र यो सडक संचालन गर्ने सम्भव र उपयोगी दुवै हुन्छ।”
यता इलाम नगरपालिका–९ का अध्यक्ष गोपाल चौहान भन्छन , “राजदुवाली खण्ड हरेक वर्ष पहिरोमा पर्छ। अब वैकल्पिक मार्ग आवश्यकता बनेको छ। फास्ट ट्र्याक बने इलामको आर्थिक र सामाजिक मुहार नै फेर्छ।”
त्यस्तै वडा नं. ७ का अध्यक्ष नरेश श्रेष्ठका अनुसार, “यो मार्गले(मेची करिडोर) इलामको प्रमुख कृषिजन्य उत्पादन—चिया, अदुवा र अलैंची—तराई हुँदै देशभर सहजै पुर्याउने बाटो खुला गर्नेछ। यो केवल सडक होइन, व्यापारिक क्रान्तिको शुरुवात हुनेछ।”
फास्ट ट्र्याक (मेची करिडोर )ले इलामको कृषि, पर्यटन र व्यवसायिक सम्भावनालाई बल पुर्याउने अपेक्षा गरिएको छ। बिर्तामोड हुँदै भद्रपुर विमानस्थल र भारतसँगको जोडिँदो सहज पहुँचले यात्रु, व्यापारी र पर्यटक सबैलाई लाभ पुर्याउनेछ।
उधोग बाढिज्य सघ इलामका अध्यक्ष कृष्ण पौडेलले भने , “इलाम बजारमा आउने–जाने पर्यटकहरू बाटोका कारण हिचकिचाउँछन्। एक घण्टामा बिर्तामोड पुग्न सक्ने बाटो बने व्यापार र पर्यटन दुबै गतिशील हुन्छ।”
अहिले पुनः भासिएको माईखोला–राजदुवाली सडकले सबै तहका सरोकारवालाहरूलाई वैकल्पिक मार्गको महत्व सम्झाएको छ। इलामका नेपाली कांग्रेसका युवा नेता निरोज खड्गीका अनुसार, “यो फास्ट ट्र्याकले केवल इलाम, पाँचथर र ताप्लेजुङको यातायात सञ्जाललाई नयाँ उचाइमा पुर्याउनेछ, यो भविष्यको विकासको मेरुदण्ड हुनेछ।”
मेची राजमार्गको अस्थिर अवस्थाले वैकल्पिक द्रुतमार्ग निर्माण अब विकल्प होइन, अनिवार्य बनाइसकेको छ।
‘इलाम–भञ्ज्याङ–पुवा खोला–बेलासे–दानावारी–बिर्तामोड’ मेची करिडोर मार्गले दूरी मात्र घटाउने होइन, इलामको आर्थिक उन्नति, पर्यटन प्रवर्द्धन र आपतकालीन पहुँच सुधारमा निर्णायक भूमिका खेल्नेछ।
यता विशेषज्ञहरूका अनुसार, फास्ट ट्र्याक मार्गले चुरे र पहाडी भूगोल छिचोल्दै अगि बढेको भएपनि त्यति धेरै कठिन भुगोल नरहेकाले सडक सहज रुपमा संचालन हुने बताईएको छ ।
इलामको भूगोल जटिल छ—घुमाउरो पहाड, माईखोला, पुवाखोला र अन्य खोलानाला पार गर्नुपर्छ।
हाल भासिएको माईखोला–राजदुवाली सडक खण्डले फेरि सबै तहका सरोकारवालालाई चेताएको छ—‘एकमात्र बाटोमा निर्भर रहँदा जोखिम बढ्छ’।
वडा अध्यक्ष गोपाल चौहानले थपे “यो फास्ट ट्र्याक हाम्रो भविष्यको विकास मेरुदण्ड हुनेछ। अहिलेको संकटलाई अवसरमा बदल्न हामी सबै तहमा सहकार्य गर्न तयार छौं।”
उता मेची राजमार्गको अस्थिर अवस्थाले वैकल्पिक मार्गको आवश्यकता केवल इन्जिनियरिङ प्रश्न मात्र बनिरहेको छिन समग्र नागरिकको जनजीवनको आवश्यकता बनाइसकेको छ।
‘इलाम–भञ्ज्याङ–पुवाखोला–बेलासे–दानावारी–बिर्तामोड’ फास्ट ट्र्याकले दूरी मात्र घटाउने होइन—इलामको आर्थिक समृद्धि, पर्यटन प्रवर्द्धन र आपतकालीन पहुँच सुधारको नयाँ अध्याय लेख्नेछ।
अब इलामवासीको साझा आवाज स्पष्ट छ —“विकासको गति बढाउने हो भने, इलामको द्रुतमार्ग बनाउने बेला यही हो।”



















































