‘दोस्रो याम्वापुङ गोल्डकप’ फुटबल प्रतियोगिता कार्तिक २५ गतेदेखि संचाल हुँदै

  युद्धबहादुर बोहोरा
1.2k Shares

पाँचथरः कार्तिक २५ गतेदेखि दोस्रो याम्वापुङ गोल्डकप खुल्ला नकआउट पुरुष तथा महिला फुटबल प्रतियोगिता पाँचथरको फाल्गुनन्द–५, फाक्तेपस्थित याम्वापुङ खेलमैदानमा शुरु हुने भएको छ। राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१ औँ जन्मजयन्तीको अवसरमा आयोजित खेल २९ गतेसम्म सञ्चालन हुनेछ। २०७६ सालमा स्थापना भएको याम्वापुङ एफसी ब्राइट स्टार क्लबले गत वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको हो। क्लबका सचिव सालाहाङ नेम्वाङका अनुसार यस वर्षको खेलमा पुरुषतर्फ १६ र महिलातर्फ ४ टिम सहभागी हुनेछन्।

प्रतियोगिताको पुरुषतर्फ प्रथम पुरस्कार ६१ हजार १५५ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रसहित प्रदान गरिनेछ भने दोस्रो पुरस्कार ४१ हजार १५५ रुपैयाँ रहनेछ।
त्यस्तै, महिलातर्फ प्रथम टिमलाई १५ हजार १५५ रुपैयाँ र दोस्रोलाई १० हजार १५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ। साथै, विभिन्न विधागत पुरस्कारहरू पनि प्रदान गरिने आयोजकले जनाएको छ। इन्ट्री दर्ता कार्तिक १५ गतेदेखि खुला हुनेछ। पुरुषतर्फ इन्ट्री शुल्क चार हजार र महिलातर्फ तीन हजार रुपैयाँ तोकिएको छ भने दुवै वर्गका टिमले एक–एक हजार रुपैयाँ डिपोजिट गर्नुपर्नेछ। खेलाडी संख्या सात प्लस दुई जनाइएको छ ।

खेललाई सफल बनाउन स्थानीय दाताहरू र वैदेशिक रोजगारमा रहेका युवाहरूबाट सहयोग संकलन अभियान समेत सुरु गरिएको सचिव नेम्वाङले जानकारी दिए । गत वर्षको प्रतियोगितामा २४ टिम सहभागी भएका थिए, जसमा फुएतप्पा एफसी, फाकफोकथुम–४, इलाम विजेता बनेको थियो। खेल एन्फाको नियम अनुसार सञ्चालन गरिनेछ। प्रत्येक टिमका खेलाडीले एकै रंगको जर्सी, बुट, प्याड र मोजा लगाउनुपर्नेछ र प्राक्टिस बल अनिवार्य रूपमा ल्याउनुपर्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार