इलाम : लगातारको वर्षा र मनसुनी गतिविधि तीव्र बनेपछि इलाम सडक डिभिजनले राति सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको छ ।
सडक डिभिजन कार्यालयले शनिबार जारी गरेको सूचनामा मेची राजमार्ग (इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्म) तथा मेची कोरिडोर (केचना–कञ्चनजंघा सडक) मा बेलुकी ७ बजेदेखि बिहान ६ बजेसम्म सबै प्रकारका साना–ठूला सवारी साधन पूर्ण रूपमा बन्द गरिएको उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशमा लगातार भारी वर्षा हुने पूर्वानुमान गरेको र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनालाई आधार मानेर क्षति न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको जनाइएको छ ।
सडक डिभिजन इलामका अनुसार दिउँसोको समयमा अत्यावश्यक यात्राका लागि ठूला सवारीसाधन (कुल वजन १० टनभन्दा बढी) ले मेची कोरिडोर (केचना–कञ्चनजंघा सडक) प्रयोग गर्नुपर्नेछ भने साना सवारीसाधन (१० टनभन्दा कम) ले सिमलगोलाई–जोगमाई–तिल्केनी सडक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यो निर्णय अर्को सूचना जारी नभएसम्म लागू हुने जनाइएको छ ।




















































