
इलाम : पयटन प्रवर्द्धन गर्ने उद्देश्यले इलाममा ‘रेडपाण्डा म्याराथन’ प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय रेडपाण्डा दिवसको अवसरमा आउँदो असोज ४ गते इलाम सदरमुकामदेखि नेपाल-भारत सीमाक्षेत्र सन्दकपुर डाँडासम्मको म्याराथन गर्न लागिएको आयोजक दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक राम रिमालले जानकारी दिए ।
रेडपाण्डा नेटवर्क र सन्दकपुर गाउँपालिकाको सहयोगमा दीपज्योति युवा क्लबले म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको हो । पुरुष र महिलातर्पका म्याराथन अन्तर्गत धावकहरु इलाम सदरमुकामस्थित चोक बजार (११२० मिटर उचाइ) बाट सन्दकपुर डाँडा (३६१० मिटर उचाइ) सम्म ४४.२ किलोमिटर दूरीमा दोडनेछन् ।
प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित देशभरका एक सय बढी धावकहरु सहभागी हुनेछन् । प्रतियोगिताका पुरुष र महिलातर्फ छुट्टाछुट्टै पहिलो हुनेले १ हजार ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले ३० हजार प्रदान गरिने आयोजक दीपज्योति युवा क्लबले जनाएको छ ।
त्यसैगरी, स्थानीय विधातर्फ इलाम, पाँचथर र ताप्लेजुङका धावकका लागि समेत छुट्टै प्रतियोगिता हुनेछन् । पुरुष र महिलातर्फका पहिलो हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार र चौथो हुनेले ५ हजार पाउने सन्दकपुर-२ का वडाध्यक्ष सनम राईले जानकारी दिए ।
‘जिल्लाको पूर्वाधार विकासँगै पर्यटन प्रवर्द्धन गर्न म्याराथन प्रतियोगिता आयोजना गर्न लागेका हौं’ दीपज्योति युवा क्लबका कार्यक्रम निर्देशक रिमालले भने, ‘रेडपाण्डा दिवसका अवसरमा रेडपाण्डा नै पाइने क्षेत्रमा आयोजना गरिएको कार्यक्रमले यहाँको पर्यटन विकासमा थप टेवा पुर्याउने विश्वास लिएका छौं ।’
लोपोन्मुख रेडपाण्डा (हाब्रे) संरक्षण, खेलकुद र पर्यटन प्रवर्द्धनका लागि आयोजना हुने ‘रेडपाण्डा म्याराथन’ मा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकको समेत सहभागिता रहने रेडपाण्डा नेतवर्कका कार्यक्रम निर्देशक वाङचु भुटियाले जानकारी दिए ।
म्याराथन प्रतियोगिताका लागि सन्दकपुर गाउँपालिकाले रुट अन्तर्गतको सडक मर्मतको काम सुरु गरेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । ‘पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हाम्रै पालिकामा म्याराथन प्रतियोगिता हुँदैछ, त्यसका लागि हामीले सडक मर्मत सुरु गरेका छौं’ अध्यक्ष गुरुङले भने, ‘यसले सन्दकपुर गाउँपालिकाको मात्र नभइ समग्र इलामको पर्यटन विकासमा सहयोग पुग्नेछ ।’
सन्दकपुर गाउँपालिका-२ मा पर्ने सन्दकपुर डाँडा इलामको सबैभन्दा अग्लो उचाइ ३६३६ मिटर उचाइमा पर्छ । सन्दकपुर डाँडाबाट सूर्योदयको दृश्यावलोकनसँगै विभिन्न ४ वटा देश नेपाल, भारत, भुटान र चीनका हिमालहरु देख्न सकिन्छ ।




















































