
इलाम : इलाम सदरमुकाम इलाम बजारमा वितरण भइरहेको खानेपानीको मुहानको नेकपा एमाले इलाम नगर कमिटीले स्थलगत अनुगमन गरेको छ। साना सहरी खानेपानी उपभोक्तामार्फत निमार्ण गरिएको खानेपानी योजनाले इलाममा पानी वितरण गरिरहेको छ। नगर कमिटीका अध्यक्ष ठाकुर नारायण श्रेष्ठसहित पधादीकारीको टोलीले खानेपानीको मुहान, वितरण ट्याङ्की र फिल्टर ट्याङ्कीसम्म ल्याइएको पाइपलाइनको स्थलगत निरीक्षण गरेको हो । यो अनुगमनमा नेकपा एमाले सन्दकपुर गाउँ कमिटीका अध्यक्ष दिपक गुरुङ,नेकपा एमाले सन्दकपुरका नेता एबम् सन्दकपुर गापा वडा नं २ का निबर्तमान बडा अध्यक्ष गिरिराज खनाल,स्थानिय सहित संचारकर्मीको सहभागी थियो।
अनुगमनपछि अध्यक्ष श्रेष्ठले देखिएका समस्या र स्थानीयले उठाएका गुनासाहरू समेटेर इलाम नगरपालिका र सम्बन्धित निकायमा प्रतिवेदन बुझाइने बताए । उनले भने, “हामी छिट्टै बैठक बसेर निर्णय गरी अनुगमनमा देखिएका कुराहरू आम उपभोक्तालाई जस्ताको त्यस्तै सार्वजनिक गर्नेछौँ।”
जिल्लाकै ठूलो खानेपानी आयोजना
नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीचको सम्झौताअनुसार यो खानेपानी आयोजना सुरु भएको थियो। जिल्लाकै अहिलेसम्मकै ठूलो मानिएको यो आयोजनाको ठेक्का रमण कन्ट्रक्सन कम्पनीले रु ५७ करोड ९५ लाखमा लिएको थियो। एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा सञ्चालित यस आयोजनामा ५ प्रतिशत लागत स्थानीय उपभोक्ताले पनि बेहोरेका छन्।
आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका खोलाहरूको मुहानबाट करिब ३२ किलोमिटर टाढा रहेको सदरमुकाममा पानी ल्याइएको हो। सुरुमा गिताङ खोला, राते, मेवाखोला र सुम्बेकको भाँडीखोलाबाट पानी ल्याउने योजना भए पनि गएको वर्षको बाढीले मुहानमा क्षति पुर्याएपछि हाल ठाडे खोला, भाँडीखोला र न्युन मात्रामा मेवा खोलाबाट पानी आपूर्ति भइरहेको छ।
सुरुमा २ हजार ८ सय ७७ घरमा पानी वितरण गर्ने लक्ष्य राखिएको यस आयोजनाले हाल ३ हजार ३ सय ४४ घरमा पानी वितरण गरिरहेको छ। यसबाहेक, ३ सयभन्दा बढी उपभोक्ता थपिएका छन्। आयोजनाअन्तर्गत उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाइप र धारा जडान खर्च पनि उपलब्ध गराइएको छ।



















































