जुनतारा सामुदायिक वन उपभोक्ता समूहद्वारा ७५ उपभोक्तालाई ड्रम वितरण*

  नयाँ बुलन्द
287 Shares

इलाम : इलामको माई नगरपालिका-९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहले ७५ घर आफ्ना उपभोक्ताहरुलाई खानेपानी भण्डारणका लागि ड्रम (प्लास्टिक ट्यांकी) वितरण गरेको छ । समूहको आफ्नो वार्षिक योजना अन्तर्गत खानेपानी संकट भोग्दै आएका उपभोक्ताहरूलाई सोमबार आयोजित कार्यक्रममा तीन लाख रुपैयाँ बराबरको ड्रम गरेको अध्यक्ष अभिषेक येक्तेन (चक्र) ले जानकारी दिए ।

लाटालाटी खानेपानी आयोजना अन्तर्गत सातामा एक दिन मात्र खानेपानी आपूर्ति हुने त्यस क्षेत्रका बासिन्दाहरूका लागि समूहको सहयोग निकै राहतदायी बनेको छ । खोल्सा खोल्सीसमेत सुक्न थालेको, माइ खोलाको पानीसमेत सानिमा माइ हाइड्रोपावरले लिएपछि पानीको चरम अभाव झेलिरहेका स्थानीयवासीले सुख्खा याममा पानी जोहो गर्न ड्रम्म उपयोगी रहेको बताएका छन् ।

उपभोक्ताहरूका अनुसार पानीको जोहो सहज भएसँगै अब अन्य गृहस्थी काम तथा आयआर्जनका गतिविधिमा पनि ध्यान दिन सम्भव भएको छ । अध्यक्ष येक्तेन भन्छन्, ‘खानेपानी स्थानीय जनताको आधारभूत आवश्यकता हो, त्यसैले हाम्रो प्राथमिकता नै यो समस्या समाधानमा थियो ।’

सामुदायिक वन उपभोक्ता समूहले खानेपानीको जोहो मात्र नभई यस वर्ष विभिन्न आयआर्जनमुखी कार्यक्रमहरू पनि सञ्चालन गरेको छ । समूहले स्थानीय उपभोक्ताहरूलाई मुढा बुन्ने तालिम तथा माहुरी पालन तालिम, साथै सुँगुर र बाख्रा वितरणसमेत गरेको छ । शिक्षाको क्षेत्रमा पनि योगदान दिँदै स्थानीय गुनमुने आधारभूत विद्यालयको भवन निर्माणमा सहयोग गरिएको समूहले जानकारी दिएको छ ।

यसैगरी, समूहले वातावरणीय संरक्षणतर्फ पनि ध्यान दिँदै रूख रोपण, बाटो सरसफाइ, युवा खेलकुद सामग्री वितरणजस्ता कार्यहरू समेत सञ्चालन गरेको छ।

करिब १७ लाख रुपैयाँ वार्षिक आम्दानी भएको यस समूहले अब आफ्नै सामुदायिक भवन निर्माणको प्रक्रिया अघि बढाइरहेको छ । अध्यक्ष येक्तेनका अनुसार स्थानीय सहभागिता र सहकार्यमा समुदायको दिगो विकास सम्भव हुने विश्वासका साथ काम गरिरहेको समूहले आगामी दिनमा थप प्रभावकारी कार्यहरू गर्ने योजना बनाएको छ ।

*शीर्षक सम्पादन गरिएको छ ।-सम्पादक

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार