काठमाडौं : आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आज विभिन्न कार्यक्रम आयोजना गरिँदैछ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्तीका लागि भव्य तयारी गरिएको छ ।
मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ ।
लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान चलाएको थियो, जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ । आज लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति ¥यालीको आयोजना गरिएको छ ।
मूल कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने प्रचारप्रसार समितिका ढुण्डीराज भट्टराईले जानकारी दिए ।
दिवस मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला भएका छन् । श्रद्धालुहरुको सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ, भक्तजनहरूले शान्तिपूर्ण वातावरणमा बुद्ध जयन्ती मनाउन सक्ने सम्पूर्ण व्यवस्था मिलाइएको भट्टराईले बताए ।
लुम्बिनी विकास कोषका कोषाध्यक्षसमेत रहेका भट्टराईले बुद्ध जयन्तीको मुख्य समारोह अन्तरराष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा हुने बताए । यस वर्षको बुद्ध जयन्तीले विश्वमा भइरहेको युद्धमा शान्ति र भाइचाराको सन्देश दिने अपेक्षा गरिएको छ । यसपटक लुम्बिनीमा जयन्तीका अवसरमा आयोजित कार्यक्रमका लागि एक करोड खर्च हुने अनुमान गरिएको छ ।