वैशाख २८ गतेदेखि शुरु हुने फुङ्गसिङ मेलामा भलिबल प्रतियोगिता हुँदै

 

पाँचथर: ऐतिहाँसिक फुङ्गसिङ मेला-२०८२ को अवसरमा वैशाख २८ गतेदेखि अन्तर-वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । पाँचथर जिल्लाको मिक्लाजुङ र इलाम जिल्लाको फाकफोकथुम गाउँपालिकाको संगमस्थल फुङ्गसिङ डाँडामा हरेक वर्ष उभौलीमा लाग्ने तीनदिने मेलाको अवसरमा भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो ।

किराँत युथ क्लब, मिक्लाजुङ-१ को आयोजना हुने प्रतियोगितामा पाँचथरसहित इलाम, झापा र मोरङ जिल्लाबाट विभिन्न वडाका टिमहरु सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउनका लागि कुनै निश्चित वडाको टिमले सहभागिता जनाउने क्रममा उक्त वडाबाहिरबाट दुईजना खेलाडीहरु टिममा राख्न पाइने नियम राखिएको छ । अघिल्लो वर्ष प्रथम र दोस्रो पुरस्कार क्रमशः पच्चीस र पन्ध्र हजार रहेकोमा यसवर्ष पुरस्कार राशिमा दोब्बरले वृद्धि गर्दै प्रथम र दोस्रो पुरस्कार क्रमशः पचास र तीस हजार राखिएको छ । विजयी टिमले नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र पनि प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीसहित थप विधाका उत्कृष्ट खेलाडीहरुलाई पनि नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।

राँके- रवि सडक अन्तर्गत फुङ्गसिङमा लाग्ने यस मेलामा विभिन्न मनोरन्जनात्म गतिविधिहरु हुने साथै बच्चादेखि बुढापाकासम्मको भिड लाग्ने गर्दछ । यहाँ रहेको देवस्थलमा पुजारीहरुले पुजापाठसमेत गर्ने चलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार