काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका सम्बन्धमा जथाभाबी नबोल्न प्रतिपक्ष दलका नेताहरूलाई चेतावनी दिएका छन् । उनले प्रतिपक्ष दलहरूलाई यति सस्तो, हलुका र उत्ताउलो नबन्न आग्रह गरे । उनले प्रतिपक्ष दलहरूको सबै पृष्ठभूमिबारे जानकार रहेको भन्दै ‘के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो’ भन्ने कुरा देखिएको टिप्पणी गरे ।
कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्ने गरेको र कोही आफ्ना असफलताका कुण्ठाहरू छर्ने थलो संसद्लाई बनाइरहेको भन्दै टिप्पणी गरे । यस्ता किसिमका क्रियाकलापहरू नगर्दा राम्रो हुने बताए ।
उनले भने, ‘म आग्रह गर्न चाहन्छु प्रतिपक्षलाई यति सस्तो, यति हलुका, यति उत्ताउलो नहुनुस् तपाईँहरू । र प्रधानमन्त्रीको सम्बन्धमा जथाभाबी पनि नबोल्नुस् । थाहा छ तपाईँहरूको पृष्ठभूमि । के गर्न हिँड्नुभएको थियो, कता हिँड्नुभएको थियो, कहाँ आइपुग्नुभयो । त्यो पनि देखिएको छ । कोही चिहानबाट नली खुट्टाका हाड निकालेर फेरि लगाउँदै हिँड्नुभएको छ । आफ्ना असफलताका कुण्ठाहरू छर्ने थलो बनाउनुहुन्छ, संसद्लाई । त्यो हामीले बुझेका छौँ । यस्ता खालका क्रियाकलाप नगर्दा हुन्छ । केके न ठूलो अपराध गरेको जस्तो । मैले यस्तो कुरा थाहा पाएँ, सुनेँ, यो कुरा गलत होस्, असत्य होस् । मैले सुनेको असत्य होस् । वाह, कुनै महान् ठूलो कुरा गरेको जस्तो । कसैले केके न ठूलो भ्रष्टाचार गरेको जस्तो । यो असत्य होस् । होइन रहेछ भने, नत्र । म भन्दिन चाहन्छु, चिसै पानीले नुहाउनुस् ।’
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले लेखेको स्टाटसप्रति लक्षित गर्दै ठुलै भ्रष्टाचार गरेको जस्तो गरी एक जना कर्मचारी निकाल्दा ‘मैले सुनेको असत्य होस्’ भन्ने जस्ता शब्दहरू लेखेको देख्दा आश्चर्य लागेको बताए ।
प्रधानमन्त्री ओलीले नयाँ राजनीतिक दलका नेताहरूलाई गलत नगर्न र सही बाटोमा हिँड्न सुझाव दिए । नयाँ राजनीतिक दलहरू सिक्दै अघि बढिरहेको पनि बताए । उनले माओवादी केन्द्रप्रति लक्षित गर्दै हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएका थकित तत्त्वहरूको संज्ञा दिँदै नयाँ राजनीतिक दलहरूलाई त्यस्ताको पछि नलाग्न पनि आग्रह गरे । नयाँ राजनीतिक दलहरूलाई सामन्तवादी प्रणाली पुनःस्थापित गर्नेहरूको पक्षपोषणमा लागेको आरोप लगाए ।
उनले भने, ‘अहिले केही नयाँ निस्किन खोजेका छन्, सिक्दै छन् । गलत नगर्न, सही बाटोमा हिँड्न नयाँहरूलाई पनि मेरो सुझाव छ । ती हतियार उठेर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएर, कति मान्छे मारेर, विध्वंस मच्चाएर थाकेका, थकित तत्त्वहरूको पसिना पुछ्न किन जानुपर्यो ? आफूलाई नयाँ शक्ति भन्छन्, पार्टीहरूले गरेनन्, ७० वर्षको बुढो भयो अरे नेता, ८८ वर्षका खोज्न जान्छन् । सबैभन्दा थोत्रो, सामन्तवादी प्रणाली पुनःस्थापित गर्छु भन्छन्, नयाँ भनेर उच्चारण गर्दछन् । नयाँ । राजतन्त्र नयाँ हुन्छ । यस्ता थोत्रा प्रणाली बोकेर हिँड्ने यो भएन, त्यो भएन भन्ने । मुखिया तन्त्रमा फर्किन खोज्ने । राजतन्त्र भनेको मुखिया तन्त्र हो ।’