चैत २४ गतेदेखि ‘सेहोनाम्लाङ’ मिनी महोत्सव हुँदै

  युद्धबहादुर बोहोरा
224 Shares

तस्वीरः गिरिराज बाँस्कोटा

पाँचथरः फाल्गुनन्द,मिक्लाजुङ र कुम्मायक गाउँपालिकासंग जोडिएको सेहोनाम्लाङ (छाला सुकुवा) क्षेत्रमा चैत्र २४ गतेदेखि मिनी महोत्सव संचालन हुने भएको छ । ओझेलमा परेको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक पर्यटन क्षेत्र सेहोनाम्लाङको प्रचार–प्रसार गरेर पर्यटन प्रवद्र्धनको विकास गर्ने लक्ष्यसहित गत वर्षबाट थालनी गरिएको महोत्सवलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ । किराँत मुन्धुममा आधारित यस ठाउँको प्रचारप्रसार,संरक्षण र किराँत धर्मावलम्वीहरुको आस्थाको केन्द्र,पवित्र धार्मिक स्थलको रुपमा विकाश गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । ‘सेहोनाम्लाङ’ को महत्व र महिमासंगै मुन्धुममा वर्णन भएको लिम्बू समुदायको उत्पति भएको मानिने ठाउँ सेहोनाम्लाङ (छाला सुकुवा डाँडा) सहितका महत्वपूर्ण भू-भाग ओझेलमा परेको हुँदा यस क्षेत्रको प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उदेश्य रहेको छ । सेहोनाम्लाङ साँस्कृतिक तथा पर्यटन संस्था (फाकुमि) फाल्गुनन्द- ५ पाँचथरको आयोजना र पीवाईसी फाल्गुनन्द ५ र मिक्लाजुङ १ नम्बर वडामा रहेका श्रजनशील,सेक्मुरी र सेहोनाम्लाङ क्लव सहआयोजनामा कृषि,खेलकुद, मनोरञ्जनलगायत समग्र आर्थिक व्यवसायको उन्नती हुने अपेक्षासहित निरन्तर मिनी महोत्सवको आयोजना गरिने आयोजक समितिका अध्यक्ष देउमान आङदेम्बे (डिएम)ले बताए ।

नयाँ वर्ष २०८२ को पूर्वसन्ध्याको अवसर पारेर तयारी गरिएको मिनी महोत्सवमा स्थानीय कृषि उत्पादन,रैथाने वस्तुको प्रदर्शनी, जात जातीका भेषभुषा, नृत्य, बाजगाजा,भलिबल खेल,स्थानीय मौलिक खानाका स्टललगायत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । उक्त महोत्सवमा भारतको दार्जिलिङ र सिक्किमबाट पनि सरोकारवाला व्यक्तिहरु सहभागीता रहने आयोजकले जानकारी दिए ।

महोत्सवको पहिलो दिन चैत २४ गते सेहोनाम्लाङ क्षेत्रको भ्रमण र अवलोकनपछि उद्घाटनसंगै सोही दिन भलिवल प्रतियोगिता शुरु हुनेछ भने लेखक तथा अध्येता मोहनचन्द्र चोम्जोङद्वारा लिखित ‘खाऊमा’ पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य दिलेन्द्र कुरुम्वाङले विमोचन गर्ने कार्यतालिका रहेको छ । दोस्रो दिन केलाङ प्रतियोगिता र धाननाचको आयोजना गरिएको छ । तेस्रो दिन विभिन्न कलाकारहरुको नृत्य प्रतियोगिता हुने साथै अन्तिम दिन चैत २७ गते भलिबल प्रतियोगिताको फाइनलको साथमा महोत्सव समापन र विभिन्न प्रतियोगितामा विजयी हुने सहभागीहरुलाई पुरस्कार वितरण गरिने भएको छ ।

केलाङ तर्फ पहिलो हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तीन हजार पाँचसय सान्तवना पुरस्कार र प्रमाण पत्र प्रति समुहलाई प्रदान गरिने भएको छ । धाननाच तर्फ प्रति समुहलाई पाँच हजार र प्रमाण पत्र साथै नृत्य तर्फ पहिलो हुनेलाई १५ हजार, दोस्रो हुनेलाई १० हजार र प्रमाण पत्र प्रदान गरिने छ । भलिवलमा प्रथमलाई ५० हजार दोस्रोलाई ३० हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ।  उत्तरे बजारबाट करिब चार किलोमिटर टाढा यासोक जाने सडकामा सेहोनाम्लाङ पुग्न सकिन्छ । यो क्षेत्र नजिकै रहेको सिङ्हाङ गैरी भञज्याङ भन्ने स्थानमा महोत्सव हुने जनाइएको छ ।

सेहोनाम्लाङ (छालासुकुवा)को परिचय

फाल्गुनन्द वडा नम्बर ५ र ७, मिक्लाजुङ १ र कुम्मायक २ नम्बर वडासँग जोडिएको उक्त ठाउँमा नाम्सामीले आफ्नो दाजु केसामीको छाला सुकाएका थिए । प्राग ऐतिहासिक कालमा फाक्चारा तिगेन्जङमाका दुई छोरा नामसामी र केसामी जन्मिएका थिए । मिथक मुन्धुमी सभ्यता अनुसार जुम्ल्याह दाजुभाइ हुर्केबढेपछि उनीहरूको झगडा तरुल, भ्याकुर र शिकारलाई लिएर हुन थाल्यो ।

शिकार खोज्ने क्रममा जंगलमा विशाल सिमलको रुखमा उनीहरूको युद्ध हुँदा नामसामीले केसामीलाई मारे । त्यसपछि नामसामीले केसामीको छाला काढेर सुकाउने ठाउँ खोज्दै हिँड्दा धेरै ठाउँ घुमे तर कतै नसुकेपछि पाँचथरको देउरालीस्थित सेहोनाम्लाङमा छाला सुकाए । नामसामीले छाला सुकाउँदा गाडेका खुटिका डोबहरू आजसम्म प्रष्ट देखिन्छन् । यस ठाउँमा अझैसम्म झार उम्रिएको छैन । घाम झुल्किदा पहिले आइपुग्ने र अस्ताउँदा पनि त्यहाँ अन्तिम अवस्थासम्म रहने गर्छ । सेहोनाम्लाङको मुन्धुम फूल जगाउने संस्कारसँग सम्बन्धित छ । विशेषगरी युवा–युवतीको शिर उठाउन फूल जगाउने संस्कार गरिन्छ ।

आमा फाक्चारा सरङ्थामा मनुष्यको प्रतिक स्वरूप सिल्लरी फूल र बाघको प्रतिकस्वरूप बाबरी फूल कलश राखेकी थिइन् । केसामीको पराजयसँगै बाबरी फूल ओइलाउँछ । नामसामीले बाघ भएका दाजु केसामीको सर्वनास गरेर लिम्बू परिवार र समाजको संरक्षण गरेको पाइन्छ । नामसामीले छालासँग मानिसलाई आवश्यक कुराहरू साटेर ल्याएको चर्चाले उ बेलादेखि नै लिम्बू समाजमा विनिमय प्रणालीको पनि शुरु भएको देखिन्छ । वास्तवमा सेहोनाम्लाङले लिम्बू सभ्यताको आदिम कालखण्डको झझल्को दिन्छ । वास्तवमा मान्छेको जोवानसँग फूललाई दाँजेर हेर्ने लिम्बूको छुट्टै विशेषता हो ।

यसरी याक्थुङ्बा लिम्बूहरूको सबैभन्दा आस्थाको नजिक सांस्कृतिक धरोहरको रूपमा सेहोनाम्लाङलाई पाउन सकिन्छ । अहिले सेहोनाम्लाङलाई छालासुकुवा डाँडाको रूपमा सीमित गर्ने गरिएको छ । यहाँका स्थानीयहरू सेहोनाम्लाङको संरक्षण गर्न खुलेर लागेको समेत २०६८ सालमा प्रकाशित लाइक जर्नलमा उल्लेख गरिएको छ । यही सेहोनाम्लाङलाई प्रचारगरी यस ठाउँको महिमा तथा वास्तविकता संसारभर पुर्याउने गरी फाल्गुनन्द गाउँपालिकाले छिमेकी स्थानीय तहहरुको समन्वयमा दिर्घकालीन गुरुयोजना बनाउने अभियान रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार