इलाम : अधिकभन्दा अधिक आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ ।
दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार आयोजित विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरे । त्यस अवसरमा उनले स्थानीय पर्यटकीय क्षेत्रहरुको संरक्षण र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए।
यही फागुन १० गतेसम्म सञ्चालन हुने महोत्सव अवधिभर विभिन्न खेलकुद प्रतियोगिताका साथै स्थानीय मौलिक संस्कृति, कला, साहित्य र संगीतको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिएको मूल व्यवस्थापन समिति अध्यक्ष कैलास थुलुङले बताए ।
महोत्सवमा विभिन्न जातजातिको पहिचान र संस्कृति झल्कने झाँकीसहित भेषभूषा, स्थानीय खाना परिकार, घरेलु तथा स्थानीय कृषिजन्य उत्पादनहरुको समेत प्रदर्शन गरिएको छ । महोत्सवमा १० दिन नै दैनिक फरकफरक ख्यातीप्राप्त कलाकारहरुको साँगीतिक प्रस्तुति रहनेछ ।
ऐनापोखरी संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार समेत लागेको छ । सहज रुपमा ऐना पोखरी पुग्न चुलाचुली गाउँपालिकाले मोटर सञ्चालन हुने सडक निर्माण गरेको छ । चुलाचुली पालिकाले पोखरी आसपासको क्षेत्रमा प्रतीक्षालयलगायत विविध भौतिक संरचना पनि निर्माण गरेको छ ।