‘माईपोखरी बहुधार्मिक महोत्सव’ सुरु

इलाम : पूर्वी पहाडको प्रथम रामसार क्षेत्र इलामको माईपोखरीमा सोमबार ‘माईपोखरी बहुधार्मिक महोत्सव’ सुरु भएको छ ।

सन्दकपुर गाउँपालिका-३ स्थित धार्मिक-पर्यटकीय क्षेत्र माईपोखरीमा हरिबोधनी एकादशीको अवसरमा दुई दिने बहुधार्मिक महोत्सव आयोजना गरिएको हो । सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले महोत्सवको उद्घाटन गरे ।

माईपोखरीलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, धार्मिक सहिष्णुता र बहुधार्मिक तीर्थका रुपमा प्रवर्द्धन तथा बहुआयमिक अनुसन्धानस्थलका रुपमा विकास गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको आयोजक समिति अध्यक्ष प्रेम नाछिरिङ राईले बताए ।

मङ्गलबारसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न हिन्दु, बौद्ध र किरात धर्मगुरुले पूजापाठ, मन्त्रोच्चरणलगायतका क्रियाकपलाप गरिने अध्यक्ष राईले जानकारी दिए । ‘माईपोखरीको पर्यटन प्रवर्द्धन गर्ने उद्देशले बहुधार्मिक महोत्सव आयोजना गरिएको छ,’ अध्यक्ष राईले भने, ‘महोत्सवमा धार्मिक प्रवचनका साथै विभिन्न क्षेत्रको दृश्यावलोकन समेत गराईनेछ ।’

महोत्सवमा माईपोखरी दर्शन तथा अवलोकन, माईपोखरी परिसरका सत्यधुनी पाठशाला, शिवालय, यज्ञकुण्ड, साधुकुटी, बौद्धगुम्बा, तीनचुलो, युमाथान अवलोकन तथा हिन्दु, बौद्ध र किरात धर्मको धार्मिक प्रवचन सुन्न पाईनेछ । त्यस्तै विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन, भेषभूषा प्रदर्शन एवम् जातीय साँस्कृतिक परिकार प्रदर्शन गरिने अध्यक्ष राईले बताए । यहाँ आउने पर्यटकका लागि फूल, आलु, मूला, अर्गानिक चिया र तरकारीको प्रदर्शन गरिएको छ ।

महोत्सवमा आन्तरिक र बाह्य गरी ५० हजार पर्यटक र भक्तजनहरुलाई माईपोखरी भ्रमण गराउने आयोजकको लक्ष्य छ । माईपोखरी पुग्ने पर्यटकलाई खान र बस्नका लागि होमस्टेको व्यवस्था गरिएको आयोजक समिति कोषाध्यक्ष निर्मला निरौलाले बताइन् ।

नौवटा कुन रहेको माईपोखरीमा पूजापाठ गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । दुई हजार एक सय २१ मिटर अग्लो डाँडामा रहेको माईपोखरीको दुई हेक्टर जलाशय र १२ हेक्टर सिमसारलाई अत्यन्त संवेशनशील मानिएको छ । बाक्लो कुहिरोले छाडेर आकाश खुल्नसाथ माईपोखरी निक्कै मनमोहक देखिन्छ ।

माईपोखरी सन् २००८ अक्टोबर २८ मा दक्षिण कोरियाको चाङबाङमा सम्पन्न रामसार महासन्धिको दशौं बैठकले विश्व सम्पदा सूचिमा राखेको छ । माईपोखरी जान इलाम सदरमुकामबाट उत्तरमा बिब्लयाँटे बजार हुँदै आधाजति कालोपत्रे र आधाजति कच्ची गरी १३ किलोमिटर सडक पार गर्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार