बजेट अभावमा माङ्हिम मन्दिरको निर्माण कार्य रोकियो

  युद्धबहादुर बोहोरा
98 Shares

 

पाँचथरः बजेट अभावमा फाल्गुनन्द गाउँपालिका ४ नम्बर वडास्थित हेलाङको शिरमा निर्माणाधीन माङ्हिम मन्दिरको काम रोकिएको छ । महागुरू फाल्गुनन्दको नामबाट नामाकरण भएको यस पालिका भित्र शालिक राख्ने र माङ्हिम मन्दिर बनाउने उदेश्यले २०७५ सालमा किराँतेश्वर सिद्धदेव स्थल नामक संस्था स्थापना गरिएको छ । किराँत युमा तिगेनजोङ्ना नाम्सामी केसामी हाङ्साम माङ्हिम साथै १६ औं राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द शालिक निर्माण पुधामलुङ संस्था स्थापना भई निर्माण कार्य शुरु गरिएको संस्थाका अध्यक्ष धन बहादुर नेम्बाङले जानकारी दिए ।  स्थानीय जग्गादाताले उलब्ध गराएको पाँच रोपनी जमीनमा तीन वर्षअघि संघीय सरकार,प्रदेश सरकार र स्थानीयतहबाट प्राप्त करीब ३६ लाख बजेटबाट माङ्हिम निर्माणका लागि शिलन्यास गरिएको थियो भने भक्तजनबाट समेत जुटेको लगानीसहित जम्मा ८५ लाख हाराहारीमा यस ठाउँमा अस्थायी भवन,ट्वाइलेट,कार्यालय  र माङ्हिम निर्माण साथै ठाढो सिंढीको निर्माण कार्य शुरु भएको उनले बताए ।

पुधामलुङ सिद्धदेव मन्दिरमा पुग्ने अधुरो सिंढी,घेराबारा,सडक,खानेपानी,विद्युत,पक्की शौचालय,भवन,मन्दिर,प्रतिक्षालय र थप निर्माण सम्पन्न गर्न करीब एक करोड पचास लाख बराबरको बजेट लाग्ने जनाइएको छ । यस क्षेत्रलाई पर्यटकिय धार्मिक स्थलको समेत परिकल्पना गरिएकोले नजिकै डाँडामा भ्यू- टावर निर्माणको पनि अवधाराण राखिएको उनको भनाई छ । मन्दिरसंगै राष्ट्रिय विभुती  फाल्गुनन्द लिङ्देनको शालिकसमेत राखिएको सह-संरक्षण समितिका अध्यक्ष नेम्वाङले जानकारी दिए । झिनो बजेटले काम थाल्न मात्रै सम्भव भएकोले धेरै काम गर्न बाँकी रहेको सचिव विष्णु प्रसाद नेम्वाङले बताए । यसअघि पालिकाबाट दराज,टेबुल कुर्शी र केही आवश्यक सामाग्री उपलब्ध गराएको थियो । हाल बन्दै गरेको शिवालय मन्दिर बजेट अभावमा निर्माण अलपत्र भएसंगै बजेट प्राप्त हुने निकायहरुमा बजेट माग गर्न थप प्रकृया थालिएको उपाध्यक्ष हर्कबल नेम्वाङ जनाए ।  गत असोजमा परेको अविरल वर्षाले यस स्थानमा भएको अस्थायी संरचनाहरु क्षति गरेको छ । उक्त क्षतिमा करीब २२ लाख बराबरको धनमाल क्षति भएको  जनाइएको छ ।

राँके-रवि-भेडेटार सडक खण्डको राँकेदेखि करीब सात किलो मिटर नजिकै घुर्विसे पञ्चमी र पुरानो पञ्चमीको बीचमा पर्दछ  पुधामलुङ मन्दिर । यसैको नजिकमा नयाँ माङ्हिम निर्माण थालिएको हो । निर्माणधीन मन्दिर परिसरको शिरमा रहेको ढुंगाको टोड्काको पानी चराचुरुङ्गीहरुले धाउँदै पिउने गरेकाले पुधामलुङ नामाकरण गरिएको किम्वदन्ती छ । यस मन्दिरमा रहेको शिलालाई हरेक जातजातीका मानिसले परापूर्वकालदेखिनै पुजा आरधाना गर्दै आएको तर प्रचारप्रसारको अभावमा पुधामलुङ सिद्धदेव मन्दिर भने ओझेलमा परेको स्थानीयवासीको गुनासो छ । आवातजावत गर्ने यात्रीहरु साथै इलामको देउमाई नगरपालिका र फाकफोकथुमका भक्तजनलेपनि सेवा गर्ने गर्छन् । यो मन्दिरसंगै यस क्षेत्रमा फाल्गुनन्द भित्र पर्ने साप्सु,शिलौटी,नाम्भुङयक,सेहोनाम्लाङ,नाम्सामी केसामी,शिवतेम्वे युमा माङ्हिम,साङबोङगेन यलिङहाङ्मा युमामाङ्हिम लगायत थुप्रै धार्मिक स्थलहरु छन् । यसै ठाउँबाट ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा(मुकुम्लुङ) प्रष्ट देखिनिका साथै हिमाल र तराईका भू-भाग अवलोकन गर्न सकिन्छ ।

यहाँबाट पूर्वीपहाडका अधिकाँश क्षेत्र देखिने भएकै कारण ऊटो खिच्ने र दृष्य अवलोकन गर्नेहरुको रोजाइमा परेको छ । यो ठाउँका अन्य धार्मिक स्थल मध्ये हाल अधुरो रहेको पुधामलुङस्थित माङ्हिम मन्दिर भने निर्माण रोकिएसंगै लथालिङग बनेको छ ।  हाल निर्माणधीन राँके-रवि-भेडेटार सडकमा काम हुँदा उक्त मन्दिरमा निर्माण भइरहेको ठाडो सिंढीमा ढुंगा खसेर केही क्षतिपुगेको र सडकको माटो बगरे मन्दिरको माथिल्को भागमा पहिरो गएको छ  । सडक र माङ्हिम निर्माण सम्पन्न भएपछि यो क्षेत्र धार्मिक पर्यटकिय स्थल बन्ने  संभावना भएको हुँदा आन्तरिक तथा वाह्य पर्यटक समेत आउने अनुमान गरिएको छ । पर्यटन प्रवर्द्धम मार्फत पालिकाको आन्तरिक आयश्रोतमा टेवा मिल्ने स्थानीयको बुझाई छ । यस माङ्हिम मन्दिर निर्माण क्षेत्रमा कोरोनाकालको समयमा कोराना शान्ति सप्ताह व्यापी सेवा साथै २०७७ सालदेखि  निरन्तर वर्षेनी विश्व शान्ति सेवा र चेसोक सेवाको अवसरसंगै (येत् नाम्धुङ लाधुङ् आपलुङ ताङ्सेप) शुभारम्भ हुँदै आइरहेको अध्यक्ष नेम्बाङले बताए ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार