इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले आज (मङ्गलबार) चौथो सार्वजनिक सुनुवाई ६ नं, वडा कार्यालय पोखरीमा गर्दैछ ।
जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गर्न लागेको हो ।
गाउँ कार्यपालिकाको कार्यालय, विषयगत शाखा र वडा कार्यालयबाट चालू आर्थिक वर्ष २०८०।०८१ मा भएका भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुावाई कार्यक्रम आयोजना गरेको हो ।
फाकफोकथुम गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा सार्वजनिक सुनुवाई संचालन हुनेछ ।
कार्यक्रममा गाउँपालिकाको तर्फबाट गाउँकार्यपालिकाको कार्यालय, विषयगत शाखा र वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाह सम्बन्धमा भएका प्रगति प्रस्तुत हुनेछ ।
त्यस्तै बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका तर्फबाट नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन पत्रको नतिजा प्रस्तुत गर्नेछ ।
त्यस्तै नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत प्रस्तुत गर्नेछ ।
नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु समेत प्रस्तुत हुनेछ । त्यस्तै ४ नं. वडा कार्यालय फुएतप्पामा समेत आजै सार्वजनिक सुनुवाई कार्यक्रम हुँदैछ ।
त्यस्तै कार्यक्रममा सेवाग्राहीहरुले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राख्नेछन् । गाउँपालिकाको तर्फबाट अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शाखाका प्रमुख तथा वडाको तर्फबाट वडा अध्यक्ष, सचिवलगायतले सेवाग्राहीको जवाफ दिनुका साथै आगामी दिनमा सेवाप्रवाहलाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता जनाउनेछन् ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको अफिसियल फेसबुक पेज Nayabulanda.com बाट हुनेछ ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।