किन पक्राउ परे कैलाश सिरोहिया ? यस्ता छन् ६ आधार र कारण

  नयाँ बुलन्द
217 Shares

आज म्याद थपको तयारी

काठमाडौँ :  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले मंगलबार पक्राउ गर्‍यो । दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको  प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई पक्राउ गर्नुको ६ कारण सार्वजनिक गरेको छ । अनुसन्धान अधिकृत नवराज खड्काले जारी गरेको विज्ञप्तिमा सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाण पत्र लिएको तर निजले नागरिकता लिनु पूर्व नै उक्त ३९६९८८८६ नम्बरको नागरिकता शिवजी साहु रोसीको नाउँमा जारी भएको देखिएको उल्लेख गरेका छन् ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय, धनुषाको च.नं. १३२१३, मिति २०८१–०१–२० को पत्र अनुसार प्राप्त जबाफमा ०३३–३४ को बालिग रेकर्डमा विदेशी बाबु– आमाबाट नेपाल अधिराज्यमा जन्म भएका नागरिकको नागरिकताहरूको दर्ता किताबमा नाम दर्ता रहेको देखिनुका साथै घासीराम मारवाडी (सिरोहिया)को सन्तानहरू गोपाल प्रसाद सिरोहिया, गोविन्द प्रसाद सिरोहिया र पुनम कुमारी सिरोहियाको नागरिकता अङ्गीकृत नेपाली भएको र नाम प्रस्ट नभएको कैलाश प्रसाद सिरोहियाको नागरिकता जन्मसिद्ध नेपाली रहेको देखिएको उल्लेख छ ।

कैलाश प्रसाद सिरोहियाले वि.सं. २०५७–०६–२९ मा नागरिकताको प्रतिलिपी लिँदा जिल्ला प्रशासन कार्यालयको धनुषाको रेकर्ड पुस्तिका  मा फोटो सहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत गरेको नपाइएको, जन्म मितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको उक्त रेकर्डमा जन्म मिति उल्लेख नरहेको पनि कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

सोही ब्यहोराको निज व्यक्तिले प्राप्त गरेको नागरिकताको प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष र कोष्टमा जन्ममिति २०१९–०८–२९ समेत लेखेको पाइएको हुँदा जन्म मितिमा उल्लेखित अंकको आकृति, उक्त प्रतिलिपिमा उल्लेख भएको उमेर र अन्य अंकहरूको आकृतिसँग मेल नखाएको तथा फरक देखिएकोले पछि कोष्टमा जन्ममिति थपी कीर्ते गरेको देखिएको विज्ञप्तिमा उल्लेख छ ।

कैलाशप्रसाद सिरोहियाले प्रथमपटक प्राप्त गरेको नागरिकता प्रमाणपत्रको जारी मितिको महलमा २०३६–०५–२५, जन्म मितिको महलमा १८ वर्ष उल्लेख गरेको पाइएको तर निजले २०५७–०६–२९ माप्राप्त गरेको नागरिकताको पहिलो प्रतिलिपिमा जन्म मितिको महलमा १८ वर्ष, जन्ममिति २०१९–०८–२९ लेखेको पाइएकोले उमेर, जन्ममिति र नागरिकताको जारी मितिबिच उमेर हिसाब गर्दा १६ वर्ष ८ महिना हुन आएकाले उल्लेखित १८ वर्ष उमेर मेल नखाएको देखिएको  तथा सिरोहियाले नागरिकता लिँदा पेस गर्नुपर्ने कागजातहरूको अभिलेख फेला नपरेकोले पक्राउ गरिएको प्रहरीको दाबी छ ।

हिजो पक्राउ परेसँगै धनुषा पुर्‍याइएका उनलाई आज म्याद थपको लागि अदालत लैजाने प्रहरीको तयारी छ ।

kkk

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार