एक जनाको हेलचेक्र्याइँले घुर्बिसे पञ्चमीमा आगलागी, १ करोड ६ लाख बढीको क्षती

आगलागीको त्रासमा रात विताउँदै बजारबासी

  युद्धबहादुर बोहोरा
3.5k Shares

 

पाँचथरः  घुर्बिसे पञ्चमी बजारमा आइतबार बेलुका भएको आगलागीमा १ करोड ६ लाख ८१ हजार रुपैया बराबरको क्षती भएको छ ।

इलाम र पाँचथरको सीमानामा अवस्थित आगलागी भएको उक्त बजार पाँचथरको फाल्गुनन्द ५ मा पर्दछ । बजारमा रहेको कविन्द्र लावती र गोपेन्द्र रिजालको संयुक्त घरबाट करीब साँझ ७:३० बजे शुरु भएको आगोले दुई घर पूर्ण रूपमा क्षती भएका छन् । लावती तर्फको घर खाली रहेको तर, रिजाल तर्फको घरमा भने विगत केही वर्ष यता राममाया बिक भाडामा बस्थिन् । उनी बसेकै कोठामा बालिएको आगो फैलिएको अनुमान गरिएको छ । उनले बालेर राम्रोसंग ननिभाई छोडेको आगो फैलिन गइ उक्त घटना निम्तिएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । रिजालको घरमा  बस्दै आएकी बिक अर्कै घरमा सुत्नेबस्ने गरेको साथै बालेको आगो निभाएर गएको उनले  बताए तापनि पीडितहरुले उनको लापर्वाहीले आगलागी भएको दावी गरेका छन् । स्थानीय छिमेकीका अनुसार  एक जनाको हेलचेक्र्याइँले निम्त्याएको घटनाबाट करोडौंको क्षती हुन पुगेको जनाए ।

यही घरसँग जोडिएको अम्बिकाप्रसाद सापकोटा र श्रीनारायण भट्टराईको अर्को घर पनि जलेर नष्ट भएको छ । बजारबासी,बजारका छिमेकी फाल्गुनन्द र फाकफोकथुमबासी,जनप्रतिनिधी, सुरक्षकर्मीको सक्रियतामा आगो नियन्त्रणमा आएपछि नजिकै रहेको राम साम्बाहाम्फेको घर जोगिँदा आगो फैलिन नपाई अन्य क्षती हुनबाट बचेको थियो । आगलागी नियन्त्रण भएपछि आगो निभाउन फिदिम र इलामबाट आएको दमकल बाटो बाटै फर्काइएको फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले जानकारी दिए । घटना बेलुकी साँझपख भएकाले मानवीय क्षती हुन नपाएको बताइएको छ ।

काठ,ढुंगा,सिमेन्ट र जस्तापातले बनेको दुई तले एकै छानो रहेका एउटै घर तर श्रेष्ता अलग भएका  रिजाल र  लावतीको घर जलेर नष्ट हुँदा ३० लाख ८० हजार मुल्यको नोक्सानी भएको छ । रिजालको घर भाडमा बस्ने राममायाको ८० हजारका सरसामान र २० हजारको खाध्यन्नसहित एक लाख गरी जम्मा ३१ लाख ८० हजारको क्षती भएको  जनाइएको छ । छिमेकी राम कुमार सम्बाहाम्फेको ५२ हजार रुपैंया बराबरको नोक्सानी पुगेको मुचुल्कामा उल्लेख गरिएको छ ।

अर्को एउटै छाना भएको तर, श्रेष्ता अलग भएको सापकोटा र भट्टराईको घर पनि पूर्ण रुपमा जलेर नष्ट भएको छ । सापकोटाको नगद ५४ हजार रुपैंया र घरसहित अन्य सामाग्री गरेर ३६ लाख ४४ हजार बराबरको नोक्सनी भएको जनाइएको छ । भट्टराई तर्फको घर जल्दा ३० लाख ८० हजार र भट्टराईको घरमा केही महिनादेखि घर भाडामा बस्दै आएका स्थानीय कमल बोहोराको ३७ हजार नगद रुपैयाँ,दुई तोला सुन, २० तोला चाँदी र सरसामनसहित ७ लाख २५ हजार बराबरको क्षती पुगेको बताइएको छ । इलाका प्रहरी कार्यालय रवि पाँचथर,फाक्तेप प्रहरी चौकी,इलामको फाकफोकथुम गाउँपालिकाका र पाँचथरको फाल्गुनन्द गाउँपालिकाक जनप्रतिनिधि,स्थानीयबासी,पीडितसहितले घटनास्थलको अवलोकन गरी १ करोड ६ लाख ८१ हजार रुपैंया मूल्य बराबरको नोक्सानी भएको मुजुल्का गरेको जानकारी गराइएको छ ।

यसैबीच, तत्कालीन पीडितहरूलाई राहत र आवश्यक व्यवस्थापनका लागि फाल्गुनन्द र फाकफोकथुम गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा ब्ल्याङ्केट,ग्याँस सिलिण्डर,चुल्हो,थालबोटुका,चामल,तेल,दाललगायतका सामाग्री प्रदान गरइएको छ । बजारमा भएको यस दुःखद घटनालाई थोरै भएपनि आपतकालीन सहयोग गर्नका लागि बजारबासीको तर्फबाट १ लाख १८ हजार ६५० नगद पीडित परिवारलाई हस्तान्तरण गरिएको छ ।

स्थानीय प्रत्रकार युद्धबहादुर बोहोराले १५ हजार रूपैया बराबरको लत्ताकपडा उपलब्ध गराएको सहयोग संकलनका अगुवा विनोद आम्देम्बे,उदिप र जितेन चेम्जोङले जानकारी दिए । घुर्बिसे पञ्चमी सहकारीले २१ हजार र फाक्तेप आयुर्वेदबाट एक हजार पाँच सय, फाकफोकथुम १ नम्बर वडाका जनप्रतिनिधी र कर्मचारीबाट चार हजार रकम प्रदान गरिएको छ ।पार्टी प्रतिनिधी,स्थानीय सरकार, प्रहरी,स्थानीयबासी लगायतको टोलीले साथ सहयोग जुटाउने क्रम निरन्तर लागिरहेको छ । साथै मङ्गलबार पीडित परिवारलाई सहयोग गरिने रेडक्रस उपशाखा राँकेका सदस्य विर नरसिह चेम्जोङले जानकारी गराए ।

यस ठाउँका घर प्राय जस्तपाता,काठ,ढुंगा तथा सिमेन्टले बनेका र कतिपयले सुँगुरको चारा पकाउने साथै रक्सी बाहिर बनाउने आगो राम्ररी ननिभाउने जस्ता लापर्वाहीका कारण अझै पनि खतरा रहेको बजारबासीको ठम्याई छ । सबैलाई आगलागी बारे जनचेतना फैलाएर सचेत बन्न पहल नगरे आगामी समयमा पनि मानवीय क्षती हुनसक्ने खतरा बढेको छ । पिउने पानी मुस्किलले धान्ने श्रोत मात्रै भएको सुख्खा ठाउँको यस बजारमा आगो निभाउने दमल फिदिम र इलाम बजारबाट बाहेक अन्य ठाउँमा नभएकाले घटनाबाट क्षती जोगाउन कठीन छ । राँके-भेडेटार सडकमा पर्ने राँके,देउराली,घुर्बिसे पञ्चमी,दशमी,उत्तरे,सप्तमी,रविलगायतका क्षेत्र आगलागीका उच्च जोखिम रहेका स्थानमा पर्दछन् । हरेक बजारमा आगो निभाउने उपकरण अभावले बजारबासी आगलागीको त्रासमा रात बिताउनु पर्ने वाध्यता छ ।  केही हप्तापछि यस बजारमा सेहोनाम्लाङ साँस्कृतिक पर्यटन महोत्सवको तयारीमा जुटेका बजारबासी आगलागीको चपेटामा परेपछि अहिले स्तब्ध बनेका छन् ।

https://www.facebook.com/nayabulanda/videos/320302493999749/?__cft__[0]=AZWfAAI7-2vRtb2yfE4gU22WgHf9_vTQQiH8ar_6B25E3JrAsd-kRR7f3Y8lP74xCXE0JRBHPRcYOuOe-7BfDc-v0j3q0kAODwIzkDTaO6wvmpcc7xekI-M8RHn0BLgehhwi0S02aY62WqpcNt-PDV7K-8WwAkohnOwBtFVdh-ycMCB_NBQ9FTf9P1ACo9C_MgE&__tn__=%2B%3FFH-R

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार