खान्द्रुङ माध्यमिक विद्यालयको ६७ औं वार्षिक उत्सव सम्पन्न (तस्बिर/भिडियोहरु)

इलाम : इलामको देउमाई नगरपालिका-७ सिद्धिथुम्कास्थित खान्द्रुङ माध्यमिक विद्यालयको ६७ औं वार्षिक उत्सव कार्यक्रम आइतबार विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगीदाता, सेवा निवृत्त शिक्षकलाई विदाई, उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत, विद्यालयका विभिन्न अक्तिरिक्त क्रियाकलाप र खेलकुद प्रतियोगितामा सहभागी विद्यार्थीलाई पुरस्कार वितरण गर्दै वार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

वार्षिक उत्सवको अवसरमा जग्गादाता, कल्याणकोषदाता, सामग्रीदाता र निर्माणदातालाई दोसल्ला ओढाई सम्मान गरेको छ । विद्यालयलाई हालसम्म ४ जनाले ८ रोपनी जग्गा दिएका छन् ।

त्यस्तै विद्यालयको कल्याणकोषदाताहरुलाई सम्मान गरेको छ । सो विद्यालयको कल्याणकोषमा हालसम्म १६ लाख रुपैयाँ जम्मा भएको प्रधानाध्यापक काजीमान येक्तेनले जानकारी दिए ।

त्यस्तै विद्यालयका लागि च्याब्रङ, डम्फु, नरसिंहा, सनाइसहित पञ्चेबाजा, सारङ्गी, विभिन्न जातजातिका पोषाक, दौरासुरुवाल, कण्ठा, सिरबन्दीलगायत सामग्री सहयोग गर्नेहरुलाई सम्मान गरेको छ ।

त्यस्तै, विद्यालयको प्रवेशद्वार निर्माण र सरस्वती मन्दिर निर्माण गरेर सहयोग गर्ने दुई जना निर्माणदातालाई समेत सम्मान गरेको छ ।

त्यैगरी सेवानिवृत्त शिक्षक चन्द्रबहादुर येक्तेनलाई विदाई गरेको छ । आइतबार सेवाबाट अवकाश भएका येक्तेनलाई सोही दिन  वार्षिक उत्सवको अवसरमा औपाचरिक कार्यक्रम गरी शिक्षकलाई विदाई गरिएको विद्यालयका प्रधानाध्यापक येक्तेनले बताए ।

३१ वर्ष सो विद्यालयमा काम गरेका येक्तेनलाई शिक्षक र विद्यार्थीहरुले फूलमालासहित विदाई गरेका हुन् । २०४९ चैत १ देखि सो विद्यालयमा कार्यरत उनी २०८० फागुन ६ देखि अनिवार्य अवकास भएका थिए ।

येक्तेन २०४० चैत १३ गते अस्थायी नियुक्त भई बालकन्या प्राविमा कार्यरत रहँदा २०४६ फागुन १ गते स्थायी नियुक्त भएका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गामाया पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रमा देउमाई नगर प्रमुख सुर्यप्रसाद पोख्रेल, उपप्रमुख पविमाया राईसहित विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधि, अभिभावक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति समेत भएको थियो । कार्यक्रममा कलाकारहरु सुनिता थेगिम, देवी गौतम, रगुन गुरुङ, रमन आचार्यलगायतले दर्शकहरु नचाएका थिए । कार्यक्रममा च्याब्रुङ नाच, साकेला सिली, डम्फु नाच, मारुनी नाच, पञ्चेबाजा समेत प्रस्तुत गरिएको थियो ।

३ दिनसम्म सञ्चालन भएको कार्यक्रममा रक्तदान र निशुल्क स्वास्थय शिविर समेत सञ्चालन भएको थियो । रक्तदानमा ५८ पिन्ट रगत सङ्कलन भएको थियो भने शिविरमा दुई सय वाँच जनाले सेवा लिएका थिए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार