सन्तकवि ज्ञानदिल दासलाई सम्झँदै साहित्यिक सम्मेलन

  नयाँ बुलन्द
399 Shares

इलामको फाकफोकथुम गाउँपालिका-३ आमचोकमा निर्माण गरिएको सन्तकवि ज्ञानदिल दासको सालिक ।

फिक्कल (इलाम) : सन्तकवि ज्ञानदिल दासको जन्मभूमि इलामको फाकफोकथुम गाउँपालिकामा प्रथम ‘ज्ञानदिल दास साहित्यिक सम्मेलन’ हुने भएको छ ।

फाकफोकथुम गाउँपालिका-३ स्थित आमचोकमा आउँदो फागुन ११ र १२ गते हुने सम्मेलनका लागि ज्ञानदिल दास प्ततिष्ठानका अध्यक्ष गुरुभक्त लामिछानेको अध्यक्षतामा आयोजक समिति गठन गरी तयारी तीव्र पारिएको छ ।

ज्ञानदिल दासको जन्मभूमि ‘आमचोक‘’को पहिचानसहित उहाँले नेपाली साहित्य, समाज सुधार र धार्मिक क्षेत्रमा गर्नुभएको योगदानको प्रचारप्रसार गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको फाकफोकथुम गाउँपालिका दिपेन्द्र खनालले बताए ।

सम्मेलनमा ज्ञानदिल दासको जीवनी र उनको बहुआयमिक व्यक्तित्वबारे अन्तरक्रिया गरी अभिलेख गरिने फाकफोकथुम गाउँपालिका अध्यक्ष खानालले जानकारी दिए । उनका अनुसार सम्मेलनको पहिलो दिन ज्ञानदिल दासको नाममा स्थापित मन्दिरको उद्घाटन, ज्ञानदिल दासको सालिक अनावरण र ज्ञानदिल दासबारे भारतको सिक्किमका अन्वेशक ‘वीर बलिभद्र कार्की डोली’ ले सङ्कलन गरेको पुस्तक सार्वजनिक हुनेछ ।

त्यस्तै, दोस्रो दिन ज्ञानदिल दासको जीवनी र उहाँको बहुआयमिक व्यक्तित्वको बारेमा प्राज्ञिक बहस हुनेछ । ज्ञानदिल दासको जीवनी सम्बन्धी कार्यपत्र साहित्यकार प्रकाश परियार र बहुआयमिक व्यक्तित्वको बारेमा साहित्यकार डा. देवी क्षेत्री दुलालले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यपत्रमाथि विभिन्न व्यक्तिहरुले टिप्पाणीसहित प्राज्ञिक बहस र छलफल गर्नेछन् ।

सन्तकवि ज्ञानदिल दासको जन्मभूमिबारे कतिपय पुस्तकमा गलत स्थान उल्लेख भएकाले तथ्यसहितको डकुमेन्ट तयार गरी सत्य इतिहास स्थापित गर्न समेत सम्मेलन आयोजना गरिएको अध्यक्ष खनालले बताए । ‘साहित्य सम्मेलनमा सहभागी हुन आउनेहरुलाई सन्तकवि ज्ञानदिल दासको जन्मभूमिको भ्रमण पनि गराउँछौं, यसले गर्दा उहाँको वास्तविक जन्मभूमिको पहिचान समेत हुनेछ’, अध्यक्ष खनालले भने, ‘ज्ञानदिल दासको जन्म आमचोकमा भएको विभिन्न तथ्यले प्रमाणित गरेपनि प्रचारप्रसार नहुँदा आमचोक ओझेलमा पर्दै आएको छ, त्यो तथ्यलाई हामी सत्यमा परिणत गर्नेछौं ।’

इलामको फाकफोकथुम गाउँपालिका-३ आमचोकमा निर्माण गरिएको सन्तकवि ज्ञानदिल दासको नाममा निर्मित मन्दिर ।

ज्ञानदिल दास जोसमनी धार्मिक-आध्यात्म जागरण र अभियानका एक सशक्त सन्तकवि हुन् । उनको जन्म सन् १८२१ मा फाकफोकथुम-३ आमचोक जोरधारमा लामिछाने उपाध्यया ब्राह्मण परिवारमा भएको थियो । उहाँको बाल्यकालको नाम श्रीकृष्ण लामिछाने हो । श्रीकृष्ण प्रारम्भिक शिक्षादीक्षा घरमा नै कुरुकुलीन पद्धतिबाट भएको थियो । जब उनी पाँचथर नाँगीनस्थित जरिङ्गो गाउँमा जोसमनी सन्त गुरु श्यामदिल दासको आश्रममा पुगेर गुरुबाट दीक्षित भए, तब उनको नाम ज्ञानदिल दास भयो । उनलाई यो नाम गुरु श्यामदिल दासले दिएका थिए । गुरु श्यामदिल दास जोसमनी सन्त-साहित्यका प्रकाण्ड विद्वान थिए ।

ज्ञानदिल दासले सामाजिक व्यवस्था, जातीय असमानता, लिङ्गीय विभेदका विररुद्ध विद्रोह गरेको पाइन्छ । जोसमनी सन्त परम्पराको प्रचार-प्रसार गर्दै विभिन्न ठाउँ पुगेर लोकप्रियता प्राप्त गर्ने सन्तकवि ज्ञानदिल दासले जीवनको पूर्वार्ध नेपालमा र उत्तरार्ध दार्जिलिङ र सिक्किममा बिताएका थिए ।

सन्तकवि ज्ञानदिल दास बसेर धर्म प्रचार गरेको पश्चिम सिक्किमको गेलिङ तीर्थस्थल बनेको छ र हाल गेलिङधामले प्रसिद्ध छ । उनले पूर्वी नेपाल तथा भारतको दार्जिलिङ, सिक्किम र भुटानसम्म जोसमनी धर्म सम्प्रदायको प्रचार गरेको पाइन्छ । उनले ओखलढुङ्गाको रुम्जाटारलाई केही समय मुख्यथलोको रुपमा लिएर धर्म प्रचार समेत गरेको पाइन्छ । उनको निधन धर्म प्रचारकै क्रममा सिक्किमको गेलिङमा वि.स. १९४० कात्तिक २५ भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार