स्वर्ण महोत्सवको अवसरमा मझौटार आविमा सप्ताह पुराण, संकलित रकम शैक्षिक उन्नतीमा लगानी गरिने

  युद्धबहादुर बोहोरा
1.5k Shares

पाँचथरः हिलिहाङ गाउँपालिका ४ सिबुवाको मझौटार आधारभुत विद्यालयमा माघ १५ गतेदेखि श्रीमद्‌भागवत महापुराण सप्ताह ज्ञानमहायज्ञ शुरु हुने भएको छ । आधारभूत तह (१-८) संचालन भइरहेको यस विद्यालयमा सप्ताह पुराणबाट जम्मा हुने रकमले शैक्षिक उन्नती,विपन्न, असहाय विद्यिार्थीहरुलाई आवसीय पठनपाठन,अंग्रेजी माध्यममा पठनपाठन तथा निकट भविष्यमा माध्यमिक कक्षा सञ्चालन गर्ने उदेश्य राखिएको छ । शैक्षिक उन्नती र विद्यालयको स्तरवृद्धि गर्न  सप्ताह पुराण आयोजना गर्दै आयोजकले आर्थिक सहयोगको आव्हन गरेको छ । आर्थिक सहयोग गर्नुहुने दाताहरुलाई रकमको आधारमा अभिलेख तथा सम्मान गरिने आयोजक समितिका अध्यक्ष सुरेन योङ्याले जानकारी दिए ।

सोही अवसरमा यस वडाका विभिन्न स्थानहरुमा सवारी दुर्घटनामा परि दिवंगत आत्म प्रति दिप प्रज्जवल गरि स्वस्ति शान्ति  गरिने जनाइएको छ । सप्ताह पुराणमा प्रमुख कथा वाचक कथा भूषण पं.पुण्यप्रसाद गुरागाई तथा पं. त्रिलोचन भट्टराईसहित सङ्गीतमय श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको तयारी गरिएको छ । २०३० सालमा स्थापना भएको यस विद्यालयको ५० औं स्थापना दिवस तथा स्वर्ण महोत्सवमा संचालन गरिने सप्ताह पुराण माघ १५ गते कलशयात्रा, मण्डप पुजा तथा समु‌द्घाटन, प्रवचन  गरिने छ । १६ गतेदेखि प्रत्येक विहान ७ बजेबाट १० बजेसम्म पुजापाठ, आरती पुष्पाञ्जली र पाठ पारावण, विहान १०:३० बजेदेखि ४ बजेसम्म कथा वाचन, साँझ ६:३० बजे मंगा आरती, साँझ ७ बजेदेखि माहात्म्य, भजन कीर्तन तथा ज्ञानमञ्च कार्यक्रम हुने र माघ २२ गते पूर्णहुती, तिलकपाती, प्रसाद ग्रहण, पुराण समापन  गरिने भएको छ । सप्ताह पुराणमा सबै सरोकारवालालाई गरिमामय उपस्थितिको लागि विद्यालय परिवार,विव्यस र आयोजकले हार्दिक निमन्त्रणा गरेको छ । ।

हाल यस विद्यालयमा आवश्यक शिक्षक दरबन्दी नभए तापनि निजी श्रोतका शिक्षक समेतको प्रयासमा गुणस्तरीय अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गरिरहेको प्रधानध्यापक योगेसरत्न योङ्याले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार