एक हप्ता भित्र राँके-रवि सडक छेउमा राखिएका गोलिया काठ हटाउनु पर्ने

काम अघि बढ्ने खबरले स्थानीयमा आसा पलायो

  युद्धबहादुर बोहोरा
5.1k Shares

 

पाँचथरः राँके-भेडेटार सडक अन्तर्गत राँकेदेखि उत्तरे बीचको सडकसंगै राखिएका गोलिया एक हप्ता भित्रमा हटाउन फाल्गुनन्द गाउँपालिकाले सुचना जारी गरेको छ ।

निर्माणधीन अवस्थामा रहेको यस सडकको धेरैजसो ठाउँको दायाँबायाँ सडक किनारमा यत्रतत्र गोलिया (काठ) राखेर सडक यातायात सञ्चालन तथा सडक निर्माण गर्नमा वाधा अवरोध पुगेको सुचनामा जनाइएको छ ।  स्थानीयको समस्या र आवश्यकता अनुसार हाल राँकेदेखि कम्पनीले काम शुरु गर्ने योजना बनाए अनुरुप केही स्थानीय ठेक्केदार कम्पनीले पेटी ठेक्कामा करीब २० किलोमिटर काम गर्ने तयारी गरिरहेका छन् । यस क्षेत्रमा भएका अवरोधहरु हटाउन पालिकाले समन्वय गरिएको पालिका कार्यालयले जनाएको छ ।

सडकको निर्माण कार्य सुचारु  हुने कम्पनी तथा ठक्केदारबाट सुचना पाएपछि सबै सरोकारवालालाई सु-सुचित गराइएको  हो । सुचनालाई मध्यनजर गरी सम्बन्धीत क्षेत्रका व्यापारीले सहयोग गर्न पनि आग्रह गरिएको छ । हाल यस सडकमा पर्ने देउराली,पुरानो पञ्चमी,घुर्बिसे पञ्चमी,दशमी,उत्तरेलगायतका कतिपय क्षेत्रमा व्यापारीले जंगलबाट गोलिया (काठ) निकालेर सडकमा थुपारेका छन् ।

यो आयोजना २०२१ डिसेम्बरसम्म (३६ महिना) मा काम सक्ने भनेर भारतीय,लखनाउस्थित एप्को इन्फ्राटेक प्रालिसंग ठेक्का सम्झौता भइ ४ जनावरी २०१८ मा उद्घाटनपछि काम शुरु गरिएको थियो ।

एक्जिम बैंक अफ इन्डियाको ८७ प्रतिशत र नेपाल सरकारबाट १३ प्रतिशत गरि जम्मा ३ करोड २६ लाख १८ हजार ५ सय ४१ अमेरिकी डलरमा कालोपत्रे गर्ने गरि काम अघि बढेको थियो । तर, विभिन्न वहाना देखाउँदै चारवर्ष वितिसक्दा पनि हालसम्म १८ प्रतिशत मात्रै काम भएको सडक आयोजनाका प्रमुख विदुर पोखरेलले जानकारी दिए । ७ मिटर फराकिलो,सोल्डर दुबै तर्फ १/१ मिटर सहित ९ मिटर गरि जम्मा १००.३६७ किमि लामो सडकको काम थालनीले उत्साही बनेका स्थानीय बासीहरु कम्पनीको लापर्वाहीले हाल आजित बनेका छन् ।

लामो समय अलपत्र यो सडक २०२४ जुनसम्म पुनः म्याद थप गरेको र हाल मुख्य ठेक्केदार कम्पनीको आफ्नै उस्थितिमा काम थालेको जनाइएको छ । केही जनशक्ति र निर्माण सामाग्री मेशिन तथा उकरणहरु ल्याएर हाल भेडेटारदेखि ६ नम्बर बुधबारे खण्डमा काम गर्दे गरेको छ ।

यत्रो चार वर्षसम्म पनि काम नगर्ने कम्पनीले अब झन के गर्ला र ? भनेर स्थानीयहरुले भने विश्वास गरेका छैनन् । यता,पेटी ठेक्कामा काम गर्ने प्रकृयामा रहेका कम्पनीहरुले भने नाफामुखीका हिसाबले मात्रै काम गर्न खोज्ने कम्पनीहरु र मुख्य ठेक्केदारले यस विषयमा संवेदनशी नबनेका कारण पनि हालसम्म सडक अलपत्र भएको सडक निर्माणमा आफैं लाग्नु पर्ने धारणा राखेका हुन् । आगामी दिनमा मापदण्ड अनुसारको बाटो बनाउन र विगतको जस्तो समस्या नदोहोरिनलाई स्थानीय क्षेत्रका कम्पनीको सहयोगबाट मात्रै बाटो राम्ररी निर्माण गर्न सकिने जनाए । मुख्य कम्पनीले भने बमोजिमका निर्माण सामाग्रीसहित समयमा विल पेमेन्ट गर्ने सम्झौता गरेमा काम गर्न सकिने पेटी ठेक्केदारले जनाएका छन् । साथै लगानी नडुब्ने ग्यारेण्टी गर्नलाई सबै सरोकारवाला निकायले पनि सहयोग गर्न उनीहरुले आग्रह गरेका छन् ।

यता,ठेक्केदार कम्पनीले भने नमुनाको लागि केही किलोमिटर सडक स्थानीयलाई काम गर्न दिने र मापदण्ड अनुसार काम गर्नसके अन्य थप गरिने बताएको छ । स्थानीय कम्पनीले कालोपत्र हुनु भन्दा अगाडीको संरचना तयार गरी अलवेदर सडक बनाउने गरि काम गर्ने खबरले स्थानीय बासिन्दामा थप आसा पलाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार