प्रचण्ड-बाबुरामबीचको छलफलपछि पार्टी एकताको टुंगो लाग्ने

  नयाँ बुलन्द
77 Shares

काठमाडौं : नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी एकताको लागि वार्ता अब शीर्ष तहमा हुने भएको छ । दुई पार्टीको वार्ता टोलीमा छलफल भएपछि अब शीर्ष तहमा वार्ता हुने भएको हो ।

नेकपा माओवादी केन्द्रले कृष्णबहादुर महरा र नेसपाले गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेका छन् । महरा र श्रेष्ठ नेतृत्वको वार्ता टोलीले गत शनिबार र मंगलबार गरी दुई पटक पार्टी एकताका विषयमा छलफल गरेका छन् ।   अब दुवै पार्टीबाट शीर्ष तहबाट छलफल गरेर पार्टी एकताको टुंगो लगाउने तयारी गरिएको वार्ता टोलीका एक सदस्यले बताए ।

माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपा अध्यक्ष बाबुराम भट्टराईबीच छलफल भएपछि दुई पार्टीको एकताको काम टुंगो पुर्‍याउने ती सदस्यले बताए ।

‘हामीले औपचारिक रूपमा २ पटक छलफल गरी सकेका छौँ । अनौपचारिक रूपमा धेरै पटक छलफल भइसकेका छन्,’ ती सदस्यले भने, ‘अहिलेसम्म पार्टीको विधान, प्रतिवेदनहरू तयार गर्नुभन्दा अघि मुख्य नेतृत्वहरू बसेर टुंगो लगाउने समझदारी भएको छ ।’

प्रचण्ड बाबुरामबीच एकता भएपछि पार्टीको नाम माओवादी केन्द्र नहुने जनाइएको छ । पार्टीको नाम समाजवादी हुने भएपनि नेकपा जोडिने वा नजोडिने भन्नेमा टुंगो लागेको छैन ।

पार्टी एकताका विषयमा माओवादी स्थायी समिति र केन्द्रीय समितिमा छलफल गरेर टुंगो लाग्ने बताएको छ । माओवादीले स्थायी समिति बैठक माघ १२ गते राखेको छ । स्थायी समिति बैठक सकिएलगत्तै केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ । माओवादीका दुवै बैठक सकिएपछि नेसपासँगको एकतासहित अन्य पार्टीसँगको एकताले समेत आकार लिने बताएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता गर्न छलफल चलिरहेको छ । दुई पार्टीबीच एकता गर्नेगरी डकुमेन्ट आदनप्रदानसहित प्रतिवेदन समेत अध्ययन गर्न थालिएको छ । त्यसपछि जसपालगायत अन्य कम्युनिस्ट पार्टीसँग छलफल गर्ने माओवादी केन्द्रको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार