वडाको शाखा स्थापना गरी सेवा विस्तार गर्दै माङसेबुङ गाउँपालिका, सेवाग्राहीलाई सहज

  राम योङहाङ
1.4k Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अभियान थालेको छ । सार्वजनिक सेवाप्रवाहलाई प्रभावकारी बनाउन वडा कार्यालयको समेत शाखा विस्तार गरी सेवा प्रवाह गर्न थालेको छ ।

माङसेबुङ गाउँपालिकाले आइतबार वडा नम्बर २ को चित्रे टोलमा वडा कार्यालयको शाखा कार्यालय स्थापना गरी उद्घाटन गरेको छ । गाउँपालिका अध्यक्ष हेमन्त राईले शाखा कार्यालयको उद्घाटन गरे ।

 शाखा कार्यालयको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राईले सेवा प्रवाहलाई सहजता बनाउन आफ्नो पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै सेवाग्राहीको माग बमोजिम शाखा कार्यालय स्थापना गरी सेवा सुचारु गरिएको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ, वडा अध्यक्ष कृष्णबहादुर बस्नेतसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि र स्थानीय सेवाग्राहीहरुको उपस्थिति थियो ।

वडाको माथिल्लो भेग खाम्नुवा, टेलिटार, दहगाउँ, याङरुपे, डाँडागाउँ, गैरीगाउँ, रक्से, चित्रेगाउँ, पावालगायतका क्षेत्रका सेवाग्राहीलाई लक्षित गरी गाउँपालिकाले चित्रेमा वडाको शाखा कार्यालय स्थापना गरेको हो । वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा शाखा कार्यालयबाट समेत प्रवाह हुनेछ । शाखा कार्यालयबाट प्रत्येक सोमबार सेवा प्रवाह हुनेछ ।

शाखा कार्यालय स्थापना भएपछि सामान्य सेवाका लागि घण्टौं हिँड्नुपर्ने नागरिक लाभान्वित भएका छन् ।

यसै साता वडा नम्बर ६ को टोड्केमा समेत वडा कार्यालयको शाखा कार्यालय स्थापना गरिने तयारी भएको अध्यक्ष राईले बताए ।

यसअघि गएको २ असोजमा ३ नम्बर वडा कार्यालयको शाखा कार्यालय भञ्ज्याङमा स्थापना गरी सेवा प्रवाह गरिरहेको छ । सो शाखामार्फत हरेक साताको विहीबार र शुक्रबार सेवा प्रवाह गरिरहेको छ ।

‘वडा कार्यालय पुग्न घण्टौंसम्म हिँड्न वाध्य स्थानीयलाई लक्षित गर्दै वडा कार्यालयको शाखा कार्यालय स्थापना गरिएको हो’ गाउँपालिका अध्यक्ष राईले भने, ‘सेवाग्राहीकै मागबमोजिम शाखा कार्यालयहरु स्थापन गरेका हौं ।’

वडा कार्यालय ६ दिन नै खुल्ला हुने तर शाखा कार्यालय भने सातामा एक/दुई दिन मिलाएर खुल्ने गरी व्यवस्थापन गरिएको राईले बताए । वडा नम्बर २ को शाखा कार्यालय यसअघिको सामुदायिक भवनमा व्यवस्थापन गरिएको छ । वडा नम्बर ३ र ६ को लागि भने घर भाडामा लिएर शाखा कार्यालय संचालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार