इलाम : प्रतिनिधिसभा र प्रदेशसभाकालागि सम्पन्न निर्वाचनको मत गणना इलाममा सुरु भएको छ । इलाम क्षेत्र नं. २ को मतगणना सदरमुकामस्थित सिटीहलमा सुरु भएको हो । हिजो सम्पन्न निर्वाचनमा इलाम २ मा १ लाख १५ हजार ९ सय ५२ मतदाता मध्ये ५९ हजार १ सय ३६ मत खसेको थियो ।
प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभातर्फ क्षेत्र नं. २ (१) को प्रत्यक्ष र समानुपातिकको गणना भइरहेको हो । जिल्लाभर ५७ दशमलव ४४ प्रतिशत मत खसेको हो । इलाम १ भने अझै मतगणना सुरु भएको छैन । फिक्कलस्थित सूर्योदय नगरपालिकाको भवनमा मतगणनाको तयारी भइरहेको छ । इलाम १ मा १ लाख ९ हजार ५ सय ३७ मतदातामध्ये ५९ हजार ९ सय ६ मत खसेको थियो । हिजो भएको मतदानमा जिल्लामा ५२ दशमलव ९३ प्रतिशत मत खसेको थियो । इलाममा प्रतिनिधिसभाकालागि २ र प्रदेशसभाकालागि ४ निर्वाचन क्षेत्र छन् । प्रतिनिधिसभाकालागि इलाम १ मा ११ र इलाम २ मा १४ उम्ेदवार छन् । प्रदेशसभाकालागि क्षेत्र नम्बर १ (१) मा ८, १ (२) मा ६ जना उम्मेदवार छन् । त्यस्तै २ (१) मा ७ जना र २ (२) १ स्वतन्त्र सहित ८ जना उम्मेदवार छन् ।