राष्ट्रिय गानका रचनाकार ब्याकुल माईलालाई मासिक ५० हजार भत्ता

  नयाँ बुलन्द
210 Shares

काठमाडौं : सरकारले राष्ट्रिय गानका रचनाकार प्रदिपकुमार राई (व्याकुल माइला)लाई मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ । मन्त्रिपरिषद्को गत शुक्रबार बसेको बैठकले व्याकुल माइलालाई भत्ता स्वरूप मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । यसअघि सरकारले व्याकुल माइलालाई भत्ता स्वरूप मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । व्याकुल माइलालाई सहज जीवनयापनका लागि यस्तो भत्ता उपलब्ध गराउने निर्णय सरकारले गरेको हो ।

‘राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला) लाई सहज जीवनयापनका लागि मासिक २५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरी मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । यसैगरी सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको हेरचाह गर्न एक जना नर्स उपलब्ध गराउने भएको छ । ‘संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले दार्चुला जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ । बैठकले चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । बैठकले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा राजपत्रांकित स्तरका पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने र राष्ट्रिय सतर्कता प्रहरी (तेस्रो संशोधन) नियमावली—२०७९ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार