चुनाबी एजेण्डामै सिमित राँके–रवि–भेडेटार सडक

सडक चाडै कालोपत्रे गर्ने कसम खाएर सांसद भए

  नयाँ बुलन्द
756 Shares

इलाम : तामझामका साथ शिलान्यास गरिएको इलामको राँके–रवि–भेडेटार सडकमा चार वर्ष बित्दासमेत काम सुरु हुन सकेको छैन ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सडक कालोपत्रेका लागि शिलान्यास गर्दा उत्साही देखिएका स्थानीय वर्षौं बित्दासमेत कालोपत्रेको टुंगो नलाग्दा निराश बनेका छन् ।

सम्झौता अनुसार तीन वर्षमा सक्नुपर्ने कालोपत्रे चार वर्ष बित्दासमेत सुरसार छैन । समयमा नै काम सक्ने वातावरण मिलाउन इलाम र पाँचथरका नागरिकले केन्द्रमा रहेका नेतालाई पटक–पटक गुहार्दासमेत सुनुवाइ भएन ।

इलाम र पाँचथरका धेरै नेताले यो सडकलाई चुनाबी एजेण्डा बनाए । सडक चाडै कालोपत्रे गर्ने कसम खाएर सांसद भए । तर, निर्वाचित भएपछि अहिलेसम्म नफर्केको स्थानीयको गुनासो छ ।

सडक नबनेकै कारण यस क्षेत्रका नागरिककोे जीवनस्तरसमेत उकासिन सकेको छैन । बरु सडककै कारण सास्ती थपिएको छ ।

कालोपत्रे भएपछि आम नागरिकको दैनिकीमा ठूलो परिवर्तन हुने अपेक्षा थियो । तर, आधारभूत आवश्यकताबाट नै बञ्चित भएपछि अधिकांशले बसाइँ सरेर सुविधायुक्त ठाउँमा जान थालेका छन् ।

भारतीय एक्जीम बैंकको ऋण सहयोगमा कालोपत्रेको जिम्मा भारतीय कम्पनी एप्को इन्फारिचलाई सुम्पिएको थियो । एक सय किलोमिटर सडक कालोपत्रे गर्नुपर्नेमा हाल निर्माण कार्य ठप्प छ भने कम्पनी पनि सम्पर्कमा छैन ।

चुनावको मुखमा सडककै कारण नेताप्रति आम नागरिकको वितृष्णा चुलिएपछि इलाम, पाँचथर, धनकुटाका नेताले कम्पनीसँगको सम्झौता रद्द गर्न माग गर्दै सरकारलाई पत्र लेखेका छन् ।

शिलान्यास र उद्घाटन गर्न हतारो गर्ने तर, काम नगर्ने नेताहरूको प्रवृत्तिले विकास निर्माणका आयोजना अलपत्र मात्र परेका छैनन्, उनीहरूले आम नागरिको विश्वास पनि गुमाउँदै गएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार