११ कर्मचारीले धानेको यातायात कार्यालय इलाम ,जहाँ सेवाग्राही खुशी हुन्छन्

  नयाँ बुलन्द
2.2k Shares

इलाम : यातायात कार्यालयमा काम ढिला भयो । बिचौलियाबिना काम बनेन भन्ने गुनासा धेरै भेटिन्छन्। तर, प्रदेश १ अन्तर्गत इलामको यातायात ब्यबस्था तथा सेवा कार्यालयमा फरक दृश्य देखिन्छ। छिटो, छरितो सेवा दिएर सेवाग्राहीको मन जितेको कर्मचारीको होइन, सेवा लिनेकै मुखबाट सुनिन्छ।

सिमित कर्मचारी भए पनि कार्य सम्पादन चाँडो भएको महसुस गरे इलाम प्याङका पूर्ण राइले । छोटो समयमै बिना झन्झट लिखित र प्रयोगात्मक परिक्षा पास गरी मोटरसाइकल चालक अनुमतिपत्र लिएर दंग थिए उनी।  ‘दलाललाई पैसा नखुवाई काही कतै लाइसेन्स बन्दैन भन्ने सुनेको हो । तर, मैले कसैलाई एक पैसा दिनु परेन । सजिलै काम बन्यो,’ उनी भन्छन्, ‘यहाँ कसैलाई काखापाखा नहुने रहेछ । उनी मात्र होइन पाँचथरका निस्चल भण्डारी समेत कर्मचारीको सेवा प्रबाह देखेर खुशी देखीए । भण्डारीका अनुसार अन्य जिल्लाको यातायात कार्यालय भन्दा फरक देखिएको बताए । उनले थपे सायद यो कार्यलयमा अन्य जिल्लाको तुलनामा सेवा ग्राहीको चाप समेत कम भएर होला यहाँ कार्यलयको सेवा प्रबाह छिटो भएकोले आफुहरु जस्तो बाहिरी जिल्ला (टाढा) बाट आएकाहरुलाई सहज भएको छ ।

यहाँ दैनिक सयौ सेवाग्राही आउँछन् । उनीहरूको काम ११ जना कर्मचारीले सहजै गरेर पठाउँछन्। गएको कार्तिकबाट लाइसेन्सको परीक्षा संचालन सुरु गरेको कार्यालयले हालसम्म तीन हजर ५ सय जनाले लिखित र प्रयोगात्मक (ट्रायल) परिक्षा उत्तीर्ण गरेको कार्यालयका सुचना अधिकारी रबिन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार ‘ए’ वर्गको मोटरसाइकल दुई हजार तीन सय ८७ जना , स्कुटर र मोपेड एवम् ‘के’ वर्गको स्कुटर र मोपेड चार सय ५५ जनाले र बी’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्स पाँच सय ९६ जनाले , टेम्पोको २७ जनाले र ट्रयाक्टरको चौतिस जनाले पाएका छन् ।

कार्यालयले सेवाग्राहीलाई मध्यनजर गर्दै सातामा तीन पटकसम्म परीक्षा संचालन गर्दै आएको छ । यता यातायात व्यवस्था सेवा कार्यालय इलामबाट लाइसेन्सको वितरण सुरु गरिए पनि आवश्यकताअनुसार कर्मचारी नभएकाले सीमित कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्दा समस्या भएको कार्यालय प्रमुख छविलाल खतिवडा बताउछन् । उनले सिमित कर्मचारीले काम गर्नु पर्दा बिहान ६ बजे देखी साझ सम्म गरिरह्नुपरेको बताए ।

यस्तै कार्यालयले चालु आर्थिक बर्षकाे हाल सम्ममा चार करोड ९९ लाख ७६ हजार राजस्व संकलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा गरी उक्त रकम संकलन गरेकोे हो । उता कार्यालयले आफ्नै ट्रायल सेन्टर नभएका कारण एक निजी कम्पनीसँग सम्झौता गरेर परीक्षा सञ्चालन गरिरहेको छ । ट्रायल सेन्टरमा समेत इलामबाटै सवारीचालक अनुमति पत्र पाउन थालेपछि उत्साहजनक सहभागिता बढेको सञ्चालक सुमन काफ्ले बताउछन् । काफ्लेका अनुशार इलामबाटै सवारीचालक अनुमति पत्र बितरण सुरु भएपछि  गाडि सिक्न चहानेहरुकाे स‌ंख्या समेत बड्दै गएकाे बताए ।

इलाममा एक चरणमा ‘ए’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडका लागि १ सय, ‘के’ वर्गको स्कूटर र मोडेडका लागि ४०, ‘बी’ वर्गको कार, जिप र डेलिभरी भ्यान लागि ३०, ‘सी’ वर्गको टेम्पो र अटोरिक्साका लागि २०, ‘जे वान’ वर्गको स्काभेटरका लागि २०, ‘जे टु’ वर्गको ब्याकहुलोडरका लागि १५ र ‘ई’ वर्गको ट्रयाक्टरका लागि १५ जनाको कोटा प्राप्त भएको छ ।

इलामबाट ड्राइभिङ लाइसेन्स वितरण सुरु भएपछि इलामसहित पूर्वि पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सेवाग्राहीलाई सहज भएको छ । यसअघि उनीहरु झापाको विर्तामोड र सुनसरीको इटहरीको यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यतामा थिए ।

कार्यालयले लाइसेन्स नवीकरण, नयाँ सवारी दर्ता नामसारी, सवारी दर्ता प्रमाण नवीकरण, बाटो ईजाजत पत्र (रुट परमिट) जारी गर्ने र नवीकरण गर्ने, सवारी साधनको प्राविधिक परीक्षण (जाँचपास) गर्ने, सवारी साधनको प्रदुषण परीक्षण गर्ने, यातायात सेवाको नाम पन्जिकृत गर्ने, सेवाग्राहीबाट सवारी साधनको कर राजश्व बुझिलिनेलगायतको काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार