कार्यालयका साइनबोर्ड ‘तीन भाषा’ र ‘तीन लिपि’ मा (भिडियो सहित)

इलाम : सामान्यतया कुनै पनि सरकारी कार्यालयको अगाडिपट्टि सबैभन्दा पहिले देखिन्छ साइनबोर्ड । सेवाग्राही वा जो कोही आफू कुन कार्यालयमा प्रवेश गर्दैछु भन्ने कुरा कार्यालयको साइनबोर्ड हेरेपछि प्रष्ट हुन्छ । साइनबोर्डमा कार्यालयको ‘नाम’ र ‘ठेगाना’ उल्लेख गरिएको हुन्छ । त्यो पनि ‘नेपाली’ भाषा र ‘देवनागरी’ लिपिमा ।

तर, पश्चिमी इलामको माङ्सेबुङ गाउँपालिका पहिलोपटक पुग्ने जो कोहीले फरक अनुभूति गर्न पाउँछन् । त्यहाँको सबै कार्यालयको साइनबोर्ड तीन वटा भाषा र तीन वटा लिपिमा लेखिएको देख्न सकिन्छ । ‘नेपाली’, ‘अंग्रेजी’ र ‘स्थानीय’ भाषा एवं ‘देवनागरी’, ‘रोमन’ र ‘किरात सिरीजंगा’ लिपिको प्रयोग भएको पाइन्छ ।

माङ्सेबुङ गाउँपालिकाले सबै कार्यालयमा त्रैभाषिक नीति अवलम्बन गरी कार्यान्वयनमा ल्याएको हो । गाउँपालिकाको मुख्य प्रशासनिक कार्यालय, विभिन्न शाखा कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था एवं विद्यालयका साइनबोर्डहरूमा तीन वटा भाषा र तीन वटा लिपि प्रचलनमा ल्याएको हो ।

साइनबोर्डमा जातीय बाहुल्यताका आधारमा स्थानीय भाषाका रूपमा ‘लिम्बू’ र ‘वान्तवा’ भाषाको प्रयोग गरिएको छ । त्यस्तै सोही साइनबोर्डमा लिपि पनि ‘देवनागरी’, ‘रोमन’ र ‘किरात सिरिजंगा’ को प्रयोग गरेको पाइन्छ । सबै कार्यालयमा लिपि ‘देवनागरी’, ‘रोमन’ र ‘किरात सिरिजंगा’ अनिवार्य एवं भाषा ‘नेपाली’ र ‘अंग्रेजी’ अनिवार्य प्रयोग गरिए पनि स्थानीय भाषा भने फरक वडामा फरक प्रयोग भएको पाइन्छ । ६ वटा वडा रहेको माङ्सेबुङमा स्थानीय भाषा भने जातीय बाहुल्यताका आधारमा ‘लिम्बू’ र ‘वान्तवा’ प्रयोग पाइन्छ ।

‘सम्बन्धित कार्यालयहरू रहेको वडामा जुन जातिको जनसंख्या बढी छ, त्यही जातिकोे स्थानीय भाषा प्रयोग गर्ने निर्णय कार्यपालिकाले गरेको छ’, गाउँपालिका सामाजिक विकास समितिका संयोजक नरेन्द्रकुमार राईले भने, ‘सोहीबमोजिम व्यावहारिक प्रयोगमा ल्याइएको छ ।’ कार्यपालिकाको निर्णय बमोजिम लिम्बू जातिको बाहुल्यता रहेको वडा–१, २ र ५ मा अवस्थित कार्यालयमा ‘लिम्बू’ भाषा राई वान्तवा जातिको बाहुल्यता रहेको वडा–३, ४ र ६ मा अवस्थित कार्यालयमा ‘वान्तवा’ भाषाको प्रयोग गरिएको छ ।

गाउँपालिकाले गरेको धरधुरी सर्वेक्षण ०७५/७६ को तथ्यांकअनुसार माङसेबुङ गाउँपालिकाको जनसंख्या १८ हजार ३ सय ९८ थियो । जसमध्ये सबैभन्दा बढी ७ हजार ७ सय ४० जना लिम्बू जातिको जनसंख्या रहेको छ । त्यस्तै दोस्रोमा ७ हजार ४९ जना राई जनसंख्या रहेको छ । बाँकी ३ हजार ६ सय ९ जना अन्य विभिन्न जातजातिका रहेका छन् । राष्ट्रिय जनगणना २०७९ को प्रारम्भिक तथ्यांकअनुसार भने माङ्सेबुङको जनसंख्या घटेर १६ हजार ८ सय ९७ मा झरेको छ ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार