
पाँचथर : पाँचथरमा दिनहुँ कोरोन संक्रमण वृद्धि भएसंगै जिल्ला भर एक हप्ताको लागि पूर्ण निषेधाज्ञा लागु भएको छ।
प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालको अध्यक्षमा सोमबार बसेको डीसीसीएमसीको बैठकले जेठ १७ गते मध्यराती १२ बजेदेखि लागु हुनेगरि २४ गते मध्यराति १२ बजेसम्म पूर्ण निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
जिल्लामा कोरोना संक्रमणको दर तीव्र गतिमा वृद्धि भएका कारण निषेधाज्ञामा थप कडाइ गर्दै औषधि पसल बाहेक सबै प्रकारका पसलहरु बन्द रहनेछ भने तरकारी,फलफूल र दूधका पसल बिहान छ बजेदेखि आठ बजेसम्म खुल्न पाउने भएका छन् । यसअघि १४ दिनसम्म गरिएको निषेधाज्ञा आज राति १२ वजे समाप्त हुने भएको छ ।
आज पाँचथरमा ६३ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संख्या सात सय २७ पुगेको छ । हालसम्म दुई सय ९३ जना निको भएका छन् भने जिल्लामा तीन जना मृत्यु पुष्टि भएको जिल्ला प्रशासन कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ । सात जनाको जिल्ला बाहिर उपचार भइरहेको जनाइएको छ ।



















































