घरमा सजह छैन दुर्गाप्रसादलाई ……

इलाम  : धेरैलाई लाग्न सक्छ, ४० वर्ष भारतीय जेल बसेका दुर्गाप्रसाद तिम्सिना घर फर्किएपछि सबै समस्याको हल भयो । तर घरको यथार्थ फरक छ । दुर्गाप्रसाद आफैं पनि मानसिक बिरामी छन् । उनको घरमा भाइको परिवार, बहिनी र आमा छन् ।
बहिनी पनि मानसिक बिरामी छिन् । उनी घरदेखि केही तल बारीमा एक्लै खाना पकाएर खान्छिन् । बेलुका सुत्नबाहेक उनी घर पुग्दिनन् । दुई दिनसम्म पनि दुर्गाप्रसाद घर आएको बहिनीलाई पत्तो छैन । ८५ वर्षीया आमामा पनि अपांगता छ । धेरै वर्षअघि गाईको स्याहार गर्ने क्रममा उनको हात भाँच्चिएको थियो । उपचार नहुँदा अगाडिको भाग कुहिएर झरेको छ । दुर्गाप्रसादका भाइ र बुहारीबीच मेलमिलाप छैन । यो समस्या अदालतको ढोकासम्मै पुगेको छ ।

४० वर्षअघि हराएका छोरा आउने सुनेर माई नगरपालिका–१० लुम्बाकमा रहेकी धनमाया आइतबार आँखा नझिम्काई घरमाथिको गोरेटो हेरिरहेकी थिइन् । तिम्सिना परिवारको सहारा नाति गोपाल (कान्छा छोराको छोरा) पनि ठूलो बुबालाई घरमा ल्याउन काँकडभिट्टा हिँडेका थिए ।

रित्तो घरमुनि एउटा चुलो थियो । चुलोदेखि केही तल पुग्दा एक महिला यताउता गरिरहेकी थिइन् । बोलाउन खोज्दा खासै प्रतिक्रिया आएन । वृद्ध आमाकी कान्छी छोरीको स्वास्थ्यमा समस्या रहेको हाउभाउले प्रस्ट झल्काउँथ्यो । घरमा रहेका कान्छा छोरा मुटुका बिरामी । उपचारमा यो वर्षमात्रै ७ लाख रुपैयाँ बढी खर्च भइसकेको छ । आठ सन्तान जन्माएकी धनमायाले दुर्गाप्रसाद हराउनुअघि नै श्रीमान् गुमाएकी थिइन् । तीन सन्तान पनि बच्चामा नै गुमाइन् । भाइ कुनै दिन आउँछ भन्ने प्रतीक्षामा बसेका माइला छोराको पनि ५८ वर्षको उमेरमा गत मंसिरमा निधन भयो ।

८५ वर्षीया धनमायाको अनुहारमा प्रस्ट आशा वर्षौंपछि घर फर्किएको छोरामा थियो । तर छोरालाई देख्नासाथ उनले प्रतिक्रिया दिइन्, ‘बिरामी भएर पो आइछस् ।’ प्रस्ट सुन्न नसक्ने आमालाई स्थानीय र सञ्चारकर्मीमाझ सहजीकरण गरिरहेका थिए उनै गोपालले ।

घरको कठिन अवस्थाबीच चार दशकपछि दुर्गाप्रसाद घर त फिरेका छन् तर उनको आगामी दिन सहज देखिँदैन । अब यो सबै जिम्मेवारी गोपालको काँधमा छ ।

घरबाट ४ घण्टा पैदल धाउँदा मुस्किलले पुगिने करफोक विद्यामन्दिरबाट उनले १२ कक्षा उत्तीर्ण गरेका छन् । पढ्ने रहर कति छ कति तर घरको बाध्यताले पढाइलाई पूर्णविराम लगाउनुपरेको उनको भनाइ छ । २० वर्षे गोपालको जिम्मेवारीमा अस्तव्यस्त परिवार त छँदै छ अब ठूलोबुबा पनि थपिएका छन् । ‘यो सबै व्यवस्थापन म कसरी गर्न सक्छु भन्ने चिन्तामा छु,’ उनले भने, ‘एकातिर परिवारको यस्तो अवस्था छ, ठूलोबुबालाई पनि मैले सोचेको भन्दा कमजोर पाएँ ।’

खासै उब्जाउ नहुने लुम्बाकमा तिम्सिना परिवारको २४ रोपनी जमिन छ । उब्जाएर खाँदा ३ महिना धान्दैन । तर गोपालले अलिकति पनि हिम्मत हारेका छैनन् । वर्षौंदेखि परिवारमा देखिएको बज्रपातलाई डटेर सामना गर्दै चार दशकपछि फर्किएका ठूलोबुबालाई ससम्मान घरमा नै राख्ने उनको संकल्प डगमगाएको छैन । ‘ठूलोबुबा र परिवारमा परेको असरको क्षतिपूर्ति पाए हुन्थ्यो,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार