नेपाल पत्रकार महासंघ पाँचथरको साधारणसभा सम्पन्न,चार पत्रकार पुरस्कृत

  युद्धबहादुर बोहोरा
0 Shares

 

पाँचथर : नेपाल पत्रकार महासंघ,पाँचथर शाखाको वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

फिदिम नगरपालिका स्थित मिडिया मोडमा शाखाको नवनिर्मित आफ्नै भवनमा शाखाका अध्यक्ष लवदेव ढुंगानाको अध्यक्षतामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेम्बाङले सरकारले सञ्चार क्षेत्रमा हाल दुईवटा कानुन बन्दै गरेको बताए । आम सञ्चार ऎन र विज्ञापन ऎन बनाउने क्रममा रहेकोे र पत्रकारको मानमर्यादा तथा श्रमको कदर गर्दै श्रमजीवी पत्रकार तथा सबै खालका मिडिया हाउसलाई समावेशी र समानुपातिक ढंगले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्ने तर्फ सरकार प्रतिबद्ध रहेको जनाए ।

शाखाका अध्यक्ष ढुंगानाले नवनिर्मित भवन निमार्ण सम्बन्धि र शाखाका विविध गतिविधि सहितको प्रतिवेदन प्रस्तुत गर्दै उनले पूर्वी पहाडी जिल्ला अन्तर्गत महासंघ पाँचथर शाखाको उत्कृष्ट डिजाइनको तीन तले पक्की भवन निर्माण गर्न प्रदेश नम्बर १ सरकारका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो मौसमले बजेट विनियोजनको मुख्य भूमिका निर्वाह गरेको जानकारी दिए साथै स्थानीय र केन्द्र सरकारको विशेष पहलमा निर्माणको कार्य सफल भएको बताए ।

करिब दुई करोड रुपैयाँको लागतमा बनेको यो भवन पत्रकार महासंघको मात्रै नभई आम नागरिकको साझा सम्पत्ति भएको बताउदै उनले भवन परिसर तथा अन्य कुरा व्यवस्थित गर्न अझै केहि बजेट अपुग भएको हुँदा प्रमुख अतिथि मन्त्री नेम्वाङ र नगरपालिका तथा सरोकारवाला संस्थासंग सहयोगको अपेक्षा सहित शाखाको तर्फबाट उनले अनुरोध गरेका छन् ।
शाखाका सचिव तुलसी क्षितिजले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष भीमकुमार बाँस्कोटाले पेश गरेको आर्थिक प्रतिवेदन सभाले पारित गरेको छ ।

साधारणसभाद्वारा आपतकालीन राहत कोष संचालन तथा व्यवस्थापन कार्यविधि पारित गर्दै १० लाख रुपैंयाको अक्षयकोष रहने गरी तत्काल ५० हजार रुपैयाँबाट आपतकालीन राहत कोष स्थापना गर्ने महत्त्वपूर्ण निणर्य गरेको छ ।
सो कोष स्थापना गर्न अध्यक्ष ढुंगानाबाट १० हजार रुपैंया उपलब्ध भएको छ । त्यस्तै,पत्रकारिता विषयमा स्नातक वा स्नातकोत्तर अध्ययन गर्न इच्छुक पाँचथर शाखाका सदस्यहरुमध्ये दुई जना पत्रकारलाई प्रति व्यक्ति १०हजार रुपैंया प्रोत्साहन स्वरुप सहयोग रकम प्रदान गर्ने निणर्य गरेको छ ।

साधारणसभा मार्फत ,जिल्लाका सकृय चार पत्रकारलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेहरुमा १० हजार रुपैंया राशीको स्वर्गीय प्रजापति ‘जालपादेवी खेलकुद पत्रकारिता पुरस्कार २०७६’ जंगबहादुर तामाङ,२०७७ को सोही पुरस्कार दिपक बोहोरालाई प्रदान गरिएको छ । त्यस्तै, स्वर्गीय हरिचरण ‘भद्रमाया वातावरण पत्रकारिता पुरस्कार २०७६’ शान्तिदेवी राई र २०७७ बाट उपेन्द्र येक्तेनलाई ५ हजार ५ सय ५५ रुपैंया र कदरपत्र सहित प्रमुख अतिथि तथा पुरस्कार आयोजक परिवारको तर्फबाट हस्तान्तरण गरिएको छ ।

साधारणसभामा विशेष अतिथि फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ,पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्य ढकाल,महासंघका केन्द्रिय प्रतिनिधि गोपाल बराइली,केन्द्रिय सदस्य सटेन्द्र जबेगु ,प्रदेश नम्बर १ का उपाध्यक्ष सोमनाथ सुसेली लगायतले कार्यक्रमको सफलता तथा पुरस्कृत हुने व्यक्तिहरुलाई शुभकामना दिएका थिए ।
साथै ताप्लेजुङ शाखाका कार्यबाहक अध्यक्ष चन्द्र प्रयास लिम्बु,तथा शाखाका पूर्व अध्यक्षहरु समेतले नवनिर्मित भवन निर्माणमा अहोरात्र खटेर काम गर्ने अध्यक्ष तथा सम्पूर्ण टिम र स्थानीय,प्रदेश र केन्द्र सरकार लगायत सम्पूर्ण सहयोगीहरु प्रति धन्यवाद ज्ञापन गर्दै शाखाको थप प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।
शाखाका उपाध्यक्ष विजयबोध लावतीले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव तुलसी क्षितिजले संचालन गरेका थिए । सभामा शाखाका सदस्य र विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति थियोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार