पुँजीवादलाई प्रसय दिएको आरोप भ्रमपूर्ण : प्रधानमन्त्री


दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रसय दिएको आरोप भ्रमपूर्ण : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रसय दिएको भन्ने आरोप भ्रमपूर्ण भएको बताउनुभएको छ ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५४औैं वार्षिक साधारणसभाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही समूहले सरकारले दलाल पुँजीवाद र नवउदारवादी पुँजीवादलाई प्रसय दिएको र उद्योगी–व्यवसायीलाई विभाजित गर्‍यो भन्ने आरोप लगाएको भन्दै त्यस्ता अभिव्यक्ति भ्रमपूर्ण रहेको बताउनुभएको हो ।

त्यस्ता अभिव्यक्ति सुनेर दुविधामा नपर्नसमेत प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

देशको निम्ति काम गर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्योगी–व्यवसायीहरु राष्ट्रका साझा सम्पत्ति भएको उहाँले बताउनुभयो ।

सरकारको नजरमा सबै उद्योगी–व्यवसायी समान भएको उहाँको भनाइ छ ।

उहाँले राज्यले सबैलाई कानुनसम्मत् ढंगले संरक्षण प्रदान गर्ने र सुरक्षा दिने काम गर्ने प्रष्ट पार्नुभयो ।

राज्यले उद्योगी–व्यवसायीहरुसँग सधैं कारोबारमा पारदर्शीता कायम गर्नमात्रै आग्रह गरेकोपनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

सरकार राष्ट्रिय पुँजी, राष्ट्रिय उद्योग र राष्ट्रिय पुँजीपतिहरुलाई सबल बनाउने पक्षमा रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय पुँजी, उद्यमी र पुँजीपतिहरुलाई विकास गर्न नसक्दा वैदेशिक लगानी खोज्नुपर्ने बाध्यता भएको पनि उहाँले बताउनुभयो ।

देशमा पुँजी निर्माण गरी बाह्य देशमा लगानी नगर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

उहाँले देशमा लगानीको अवसर सिद्दिएको नभइ झन् बढेको भन्दै देशभित्रै लगानी बढाउन सुझाव दिनुभयो ।

अहिलेपनि देशभित्र उपभोग हुने अधिकांश वस्तु आयात गर्नुपर्ने भएकाले त्यसलाई प्रतिस्थापन गर्नपनि उत्पादन बढाउने क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

कोभिड–१९ का कारण नागरिक, निजी क्षेत्र र सरकार सबैलाई कठिनाइ परेकोले मिलेर सामना गर्नुको विकल्प नरहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

सरकार मनको गरिब नभइ आफ्नो क्षमता र गक्षअनुसार उद्यमी–व्यवसायीहरुलाई सघाएको बताउनुभयो ।

उहाँले गक्षभन्दा एक कदमअगाडि बढेर सरकारले सहयोग गरेपनि बचत नभएका कारण त्यो थोरै हुने बताउनुभयो । तर पनि सबै पक्ष मिलेर एकसाथ नहिँडे अर्थतन्त्रलाई जोगाउन कठिन हुने उहाँको भनाइ छ ।

‘राहत प्याकेज छिटो उपलब्ध गराउन ध्यान जानुपर्छ’
कार्यक्रममा उद्योगी–व्यवसायीहरुले भने कोरोनाका कारण अर्थतन्त्र र व्यवसायी दुःखमा भएको बताएका थिए ।

बजेटमा ल्याइएको सहुलियत कर्जाको कार्यविधि ढिलो आउँदासमेत उद्योग–व्यवसायलाई निरन्तरता दिन कठिनाइ भएको महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताउनुभयो ।

उद्योग–व्यवसायलाई निरन्तरता दिन पुँजीको अभाव भएकाले घोषणा भएका राहत प्याकेज छिटो उपलब्ध गराउन सरकारको ध्यान जानुपर्ने गोल्छाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार