इलाममा द्वन्द्वकालमा समेत नरोकिएको ‘हाउजी’ कोरोनाले रोक्यो

  नयाँ बुलन्द  161 पटक हेरिएको

इलाम : दशैँ तिहार भन्नासाथ इलाममा परम्परागत रुपमा खेलाइँदै आएको हाउजी (बिङ्गो)खेल विजेताले पाउने पुरस्कारको चर्चा चल्थ्यो । यो खेल दशैँको घटस्थापनादेखि तिहारको भाइटीकाको दिनसम्म खेलाइन्थ्यो । हरेक साँझ बिङ्गो खेल्न इलामका मात्रै होइन जिल्ला बाहिरबाट पनि बिङ्गोको पारखी आइपुग्थे । जिल्ला छाडेर काम विशेषले अन्यत्र बस्नेहरु दशैँ तिहारको बेला खेलिने बिङ्गोमा सहभागी हुन्थे । सदरमुकाममा खेलाइने बिङ्गो भेटघाटको राम्रो थलो पनि हुने गरेको थियो ।

‘यहाँ यो खेल सामाजिक कार्यका लागि खेलाइने गरिएको थियो’, पत्रकार तथा बिङ्गो खेलाउन सिपालु स्थानीय सुदिप श्रेष्ठले भने , ‘पाँचथर, ताप्लेजुङ्ग, झापा लगायत जिल्लाबाट समेत यो खेल खेल्न मानिसहरु इलाम आउने गर्थे ।’चरम द्वन्द्वको बेला समेत कहिल्यै स्थगित नभएको खेल यस वर्ष भने कोरोना महामारीका कारण स्थगित भएको छ । महामारीका कारण बिङ्गो नहुने भएपछि बिङ्गो पारखीहरुले खल्लो मानिरहेका छन् । स्थानीय तह गठन हुुनु भन्दा पहिले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर बिङ्गो खेलाइन्थ्यो । पछि इलाम नगरपालिकाले खेलको लागि अनूमति दिन थालेको हो ।

अन्यत्र व्यावसायीक रुपमै खेल खेलाइने भए पनि इलाममा भने मनोरञ्जनका साथै सामाजिक कामको खर्च जुटाउने उद्देश्यले खेलाइन्छ । वर्षैपिच्छे फेरिएर विभिन्न सामाजिक संघसंस्थाले बिङ्गो खेलको आयोजना गर्दै आएका थिए । विक्रम सम्बत २०१८ सालमा इलामका तत्कालिन बडाहाकिम (पूर्वमन्त्री) प्रकाशचन्द्र मुखियाले इलाम सदरमुकाममा बिङ्गो खेल भित्र्याएको जानकारहरु बताउँछन् । अन्य ठाउँमा जुवाको रूपमा बिङ्गो खेलिने गरेको भए पनि इलाममा भने संस्कृतिको रूपमा खेल्ने, खेलाइने गरिएको छ ।

 

बिङ्गोबाट यस अघि संकलित रकमबाट इलामको ठूलो टुँडिखेल मर्मत, ब्लड बैंक भवन निर्माण, नेपाल पत्रकार महासंघ इलामको भवन निर्माण, इलाम चोकबजारमा रहेको पिपिटावर निर्माण गरिएको थियो । यस्तै माइभ्याली गोल्डकप सञ्चालनको लागि श्रोत जुटाउन, पर्यटन प्रवद्र्धनको काममा श्रोत जुटाउने लगायतका काममा पनि खर्चिने गरिएको छ । इलाममा बिङ्गो खेल चर्चामा आएपछि भने पूर्वका धरान, झापा र ताप्लेजुङ्गमा समेत पछिल्लो समय खेलिन थालिएको श्रेष्ठले बताए ।

जिल्ला बाहिर रहेकाहरु दशैँको बेला घर फर्किने क्रम यस वर्ष कम भएको छ । यस्तै पहिले ठाउँ–ठाउँमा राखिएका लिङ्गे पिङ र विभिन्न खेलकुद प्रतियोगिताले दशैँको बेला गाउँघर तथा शहर–बजारलाई पुरै तताउँथ्यो । यस वर्षको दशैँमा भने ठीक उल्टो भएको छ । सबैतिर सुनसान छ । महामारीका कारण आफ्नो गृहजिल्ला आउन नपाउँदा धेरैको मन खल्लो भएको छ ।

जिल्लामा १० पालिका छन् । यी सबै पालिकामा फूटबल प्रतियोगिता हुन्थे । सबै खेलको समापन फूलपातीका दिन गरिन्थ्यो । यस पटक भने कतै प्रतियोगिता नहुने भएको अखिल नेपाल फूटबल संघका केन्द्रिय सदस्य निरोज खड्गीले बताए । ‘दिनमा पाँचवटा प्रतियोगिताको अतिथीको आसन ग्रहण गर्नु पथ्र्यो । कति ठाउँमा त समय नपुगेकाले रिसाएका पनि छन्’, विगत स्मरण गर्दै खड्गीले भने, ‘अहिले त पहिलेको जस्तो व्यस्तता पनि छैन, चाडबाड साच्चै नै खल्लो लागेको छ ।’ कोरोनाका कारण खेलकुद प्रतियोगिता नहुँदा खेलाडीहरुको दक्षतामा कमी आउँछ कि भन्नेमा उनि चिन्तित छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार