इलाम : इलामको देउमाई नगरपालिकास्थित चमैतामा स्थानीयबासीलाई स्वास्थ्यपचारका लागि टेवा पु¥याउने उद्देश्यले एम्वुलेन्स प्रदान गरिएको छ । चमैता सरोकार समाज नामक संस्थाको संयोजनमा देश विदेशमा रहेका चमैताबासीको सहयोगमा आर्थिक सहयोग सङ्कलन गरी एम्वुलेन्स खरिद गरिएको हो ।
समाजको अगुवाईमा एक वर्षदेखि फेसबुक, द्वीटर, फोनमार्फत देश तथा विदेशमा रहेका चमैताबासीबाट १४ लाख ५० हजार सङ्कलन गरी एम्वुलेन्स खरिद गरिएको समाजका सचिव कमल श्रेष्ठले जानकारी दिए । सङ्कलित रकममध्ये १० लाखमा एम्वुलेन्स खरिद गरिएको र बाँकी रकमले समाजको भवन निर्माण गरिने समेत उनले जानकारी दिए । पवित्र उद्देश्यले लिएर स्थापना भएको समाजले आगामी दिनमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम तथा स्वरोजगारमूलक विभिन्न क्षेत्रमा काम गर्ने योजना रहेको सचिव श्रेष्ठ सुनाउँछन् ।
उक्त एम्वुलेन्सको नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोखरेलले उद्घाटन गरे । एम्बुलेन्स उद्घाटन गर्दै प्रमुख पोखरेलले गाउँमा एम्बुलेन्स सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै चमैताबासी बिरामी परेको बेला गाडी खोज्न अन्यत्र कतै धाउनुनपर्ने बताए । ‘देश विदेशमा चमैताबासीले गाउँका लागि ठूलो योगदान गर्नु उदहारणीय भएको चर्चा गर्दै प्रमुख पोखरेलले यस्ता काममा नगरपालिकाले पनि आगामी दिनमा स्थानीयबासिन्दालाई सहयोग गर्ने बताए ।
अभियान सञ्चालन गर्ने ‘चमैता सरोकार समाज’ ले आगामी दिनमा सामाजिक सुधार र विकासका कार्यक्रमहरू गाउँमा ल्याउने हो भने नगरपालिकाले सँधै सहयोग गर्ने र त्यस्ता योजनाहरूमा नगरपालिकाले साझेदारी गर्ने उनको भनाई छ ।
भौगोलिक विविधताले धनी, पर्यटनको प्रचुर सम्भावना बोकेको ऐतिहासिकता र उत्पादकत्व पनि राम्रो भएको गाउँ चमैता इलामका अन्य क्षेत्रभन्दा कम चर्चामा आउने गरेको कारण चमैतामा जन्मे–हुर्केका व्यक्तिहरूको सामूहिक प्रयासबाट आफ्नो ठाउँको विकासको लागि एक भएको ‘चमैता सरोकार समाज’ का अध्यक्ष मनबहादुर गुरूङ बताउँछन् ।
आगामी वैशाख महिनामा चमैतामा स्वास्थ्य शिविरको कार्यक्रम समेत सञ्चालन गरिने अध्यक्ष गुरूङले जनाए । एम्वुलेन्स उद्घाटन समारोहमा नौमती बाजा समेत लगाइएको थियो