पर्यटनमा इलाम–पाँचथरको पहल

  नयाँ बुलन्द
0 Shares

इलाम : इलाम पाँचथरका सीमावर्ती पर्यटकीय क्षेत्रको विकासमा दुवै जिल्लाबाट संयुक्त पहल थालिएको छ । उत्तरी इलाम र पाँचथर सीमावर्ती क्षेत्रमा दृश्यावलोकन, जैविक र धार्मिक विविधतालगायत कारणले पर्यटकीय गन्तव्य हुन सक्ने सम्भावना देखिएको हो ।

पाँचथरको फालेलुङ गााउँपालिकाको आयोजनामा दुवै जिल्लाका सरोकारवालालाई समेटेरै प्रारम्भिक छलफल अघि बढाइएको छ । दुवै जिल्लाबाट संघीय र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद, पूर्वमन्त्री, पर्यटन व्यवसायी, पाँचथरको फालेलुङ, इलामको सन्दकपुर र माईजोगमाई गाउँपालिकाका जनप्रतिनिधिको उपस्थितिमा भएको भेलाले दुवै जिल्लाका पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका लागि सामूहिक लगानीको वातावरण बनाउने सहमति गरेको हो ।

भारतीय सीमसँग जोडिएको इलामको अग्लो स्थान सन्दकपुरमा भेला भएका सरोकारवालाले यहाँको पर्यटन सम्भावनालाई उजागर गर्दै आयस्रोतभको गतिलो माध्यम बनाउन एक्लै नभएर साझा ढंगले अघि बढ्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

इलामको सन्दकपुर, पाँचथरको फालौट, तीनसिमाना, चिवाभञ्ज्याङ र तिम्बुङ पोखरी क्षेत्रमा नेपाल, भारत, भुटानसहित पश्चिमा मुलुकबाट वार्षिक हजारौं पर्यटक आउने गरे पनि पूर्वाधार अभावमा त्यसको प्रत्यक्ष लाभ नेपालले लिन सकेको छैन । यो अवस्थमा दुवै जिल्लाका सरोकारवालाले संयुक्त प्रयास गर्ने हो भने चाँडै उत्कृष्ट गन्तव्य निर्माण हुन सक्ने उनीहरूको धारणा थियो ।

इलाम पाँचथर र ताप्लेजुङका उच्च पहाडी र हिमाली क्षेत्रका सीमावर्ती पर्यटकीयस्थलमा छिमेकी भारत र सिक्किमले सरकारी लगानीमै होटल, लज र रेस्टुरेन्टसहित भ्यु प्वाइन्ट निर्माण गरी आम्दानी गरिरहेका छन् । अधिकांश स्थानमा खानेपानी र दाउरा पनि नेपालकै प्रयोग हुन्छन् ।

कच्ची नै भए पनि इलाम र पाँचथर तर्फबाट खनिएका बाटो भएर प्रशस्तै पर्यटक त्यहाँसम्म पुग्ने गरेका छन् । ‘सम्बन्धित क्षेत्रका स्थानीय तहको साझेदारी सुरुवात भए प्रदेश र संघीय सरकारले लगानीको वातावरण बनाउन सक्छ,’ पाँचथरका संघीय सांसद वसन्तकुमार नेम्बाङले भने । भेलाले दुवै जिल्लाका सीमावर्ती क्षेत्रका पर्यटकीय स्थलको पहिचान र प्रचारप्रसारसँगै ती क्षेत्रमा पूर्वाधार निर्माण गर्न सामूहिक लगानी गर्नका साथै अन्तरपालिका समन्वय गर्न फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङको संयोजकत्वमा पर्यटन प्रवद्र्धनका लागि समिति गठन गरेको छ ।

समितिमा तीनवटै पालिकाका अध्यक्षहरू सदस्य, प्रदेश र संघीय सांसदसहित जिल्ला समन्वय समिति प्रमुखहरू सल्लाहकार सदस्य रहने व्यवस्था मिलाइएको छ । समितिले पाँचथरको याङवरक र ताप्लेजुङको सिदिङमा गाउँपालिकालाई सदस्य संस्थाका रूपमा मनोनीत गर्दै दिगो रणनीति निर्माण गर्ने जनाएको छ । लगानीका लागि आन्तरिक स्रोत मात्रै पर्याप्त नहुने सहभागीको भनाइ थियो । त्यसका लागि प्रदेश र संघीय सरकारसँगै दातृ निकायबाट पनि लगानीको वातावरण बनाउन समितिले भूमिका निर्वाह गर्नुपर्ने सुझाव पूर्वमन्त्री श्रीप्रसाद जबेगुको छ ।

इलाम सदरमुकामसहित पूर्वी फिक्कल क्षेत्र र पाँचथरको फिदिमबाट सडक सञ्जालले सन्दकपुरलाई जोड्ने काम वर्षौंदेखि सुरु भए पनि सोचेअनुसार गति लिन सकेको छैन । अझै पनि मोटर चढेर त्यहाँ पुग्न निकै सकस खेप्नुपर्ने अवस्था छ । यी क्षेत्रमा व्यवस्थित बसोबास, विद्युत्, सञ्चार खानेपानीलगायत पनि उत्तिकै समस्या छ ।

‘सरकारले पछिल्लो समय थपेका पर्यटकीय गन्तव्यको सूचीमा सन्दकपुर क्षेत्र परेसँगै गाउँपालिकाले यहाँको विकासका लागि महत्त्व दिएको छ,’ इलामको सन्दकपुर गाउँपालिकाका प्रमुख उदय राईले भने, ‘अझ दुवै तर्फबाट सामूहिक प्रयास गरेर योजना निर्माणसँगै लगानी जुटाउनसके थप फाइदा पुग्नेछ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार