
इलाम : इलामको आकर्षक पर्यटकीय गन्तव्य अन्तुमा प्याराग्लाइडिङको सफल परीक्षण हुँदा स्थानीयवासी निकै खुसी भए। तर, यो प्रयास परीक्षणमै सीमित बनेको छ। अन्तमा व्यावसायिक उडान हुने योजना नै बन्न सकेको छैन।
खासमा यो उडान प्रशासनलाई जानकारी नदिई र सूर्योदय नगरपालिकासँगसमेत समन्वय नगरी गरिएको थियो। ग्रामीण पर्यटनको अभ्यास गरिरहेको सूर्योदय नगरपालिकाले समेत जानकारी नपाएको बताउँदै प्रवक्ता पेमा उर्गेन लामाले भने, ‘हामीसँग समन्वय नै नगरी गरिएको परीक्षणले व्यावसायिक र मूर्तरुप पाउन सकेको छैन। यसबारे कानुनी हिसाबले हामीसँग पनि कुनै समन्वय र छलफल भएको छैन।’ परीक्षण गर्ने संस्था र व्यक्तिले स्थानीय सरकारसँग समन्वय नगरेकै कारण यसबारेमा योजना बनाउन नसकिएको लामाले बताएका छन्। इलामको कन्याममा पनि प्याराग्लाइडिङको उच्च सम्भावना रहेको परीक्षणमा संलग्न समूहले जनाएको छ।
सदरमुकामका विभिन्न स्थानमा परीक्षणको प्रयास गरेको प्याराग्लाइडरको टोली अन्तु पुगेको थियो। त्यहाँ सफलता मिल्यो। अन्तुबाट महेन्द्रबेसी सिद्धिखोलासम्म सफल परीक्षण गर्दै १५ मिनेटसम्मको उडानमार्फत पाइलट विवेक शम्शेर राणा अन्तुको आकाशमा उडेका थिए। प्याराग्लाइडिङको सम्भावना देखेका अन्तुबासीले इलाममा आएको टोलीलाई भव्य स्वागत गरे। सुकिलुम्बा विमानस्थलमा उडानको अभ्यास भए पनि खराब मौसमका कारण उडान हुन सकेन। एक दशकभन्दा बढी समयदेखि स्वदेशी र विदेशी पर्यटक भिœयाउन अन्तुबासी कस्सिएका छन्। होमस्टे सञ्चालन गरेका छन्। पछिल्लो पटक पर्यटक तान्ने उद्देश्यले गरिएको प्लाराग्लाइडिङको परीक्षण पनि आन्तरिक पर्यटनकै लागि भएको स्थानीयको कथन छ।
पाइलट राणाका अनुसार ३६ डिग्री सेल्सियस तापक्रमसम्मका स्थानमा प्याराग्लाइडिङ सञ्चालन गर्न वातावरण उपयुक्त हुन्छ। हावाको बहाव दु्रत हुनुपर्ने दृष्टिले इलाम उपयुक्त ठाउँ हुँदा प्याराग्लाइडिङ सम्भावना अध्ययनका लागि आएको राणाले बताए। सम्भावना अध्ययनका लागि प्याराग्लाइडिङ पाइलट विवेक सम्शेर राणा र विवेक लावती आएका थिए।
उडानमा पहल लिएको इलाम सोसाइटी यूकेकी संस्थापक अध्यक्ष सुमित्रा लाबुङ राईले इलाममा पर्यटन प्रवद्र्धन गर्न आफूहरूले सानो प्रयास गरेको बताउँदै भनिन्, ‘पर्यटक बढ्ने हुँदा व्यावसायिक उडान गर्न पनि सरकारसँग समन्वय गरेर काम गर्ने योजनामा छौं तर सरकारले गर्ने सहयोगमा पनि कमी हुनु हुँदैन।’
इलाममा थुप्रै पर्यटकीय क्षेत्र, अग्ला थुम्काथुम्की र प्याराग्लाइडिङको सम्भावना भए पनि इलामका स्थानीय तहले यसको विकासका लागि योजना बनाएरै लगानी भिœयाउन प्रयास गरेका छैनन्। केही महिनायता इलाम, देउमाई र सूर्योदय नगरपालिकामा व्यवसायीले प्याराग्लाइडिङको परीक्षण त गरे तर स्थानीय सरकारले चासो नदिँदा व्यावसायिकताको प्रक्रिया भने अघि बढ्न सकेको छैन।
इलाम घुम्न आउने अधिकांश पर्यटकको पहिलो बास अन्तुमा हुने गर्छ। कात्तिक लागेसँगै सूर्योदयको मनमोहक दृश्य हेर्न यहाँ पर्यटकको भीड बढ्छ। प्याराग्लाइडिङ सफल भएसँगै अन्तुमा पर्यटकको आगमन थप बढ्ने स्थानीयको अपेक्षा छ। अन्तु पर्यटन समितिका अध्यक्ष धनकुमार आले भन्छन्, ‘प्याराग्लाइडिङ पर्यटक तान्ने राम्रो कडी हुन सक्छ। यसलाई चासो दिएर स्थानीय सरकारले पनि पहल गर्नुपर्छ।’ अन्तुमा लोपोन्मुख लेप्चा जातिको कला, संस्कृति र साहित्यको अवलोकन तथा अध्ययन गर्न पर्यटक आउने गरेको आले बताउँछन्। यहाँ साना ठूला गरेर ४० भन्दा बढी होमस्टे पनि सञ्चालनमा छन्। भारत र भुटानका पर्यटकको रोजाइमा पर्ने यो ठाउँमा चियाबारीको रमाइलो र अन्तु पोखरीको अवलोकन पर्यटकको घुम्ने सूचीमा पर्ने गरेको छ।
देउमाई नपाको गुफाथुम्कीबाट सफल परीक्षण भयो। पर्यटन व्यवसायी तथा प्याराग्लाइडर वाङचु शेर्पा गुफाथुम्कीबाट उडेर गुम्बाडाँडामा अवतरण गरे। देउमाई नपा ४ का वडाध्यक्ष राजेन्द्र बाँस्तोला भन्छन्, ‘नगरपालिकाकै पहलमा सम्भाव्यता अध्ययन सुरु गरिए तर व्यावसायिक उडान गर्न निजी क्षेत्रले नै पहल लिनुपर्छ।’ उनले प्याराग्लाइडिङको विकासमा नगरपालिकाले सहयोग गर्ने नीति लिएको सुनाए। इलाम नपाका प्रवक्ता ठाकुर श्रेष्ठले अहिल्यै व्यावसायिक रूपमा अघि बढ्ने भन्ने नगरको कुनै योजना नरहेको सुनाउँदै भने, ‘यसको सम्भावनाबारे भने छलफल चलाएका छौं।’annapurna post



















































