सन्दकपुर : समाजसेवालाई उमेर छेक्दैन भन्ने गतिलो उदाहरण इलामको सन्दकपुर गाउँपालिका २ माइमझुवा गिताङका एक हाङखिम दम्पतिले देखाएका छन् । स्थानीय ९१ वर्षीय धनपति हाङ्खिम र ७२ वर्षीया हर्कमाया हाङ्खिमले नीजि लगानीमा पुल बनाएर जीवनको उत्तरार्धमा समेत सामाजिक कामलाई निरन्तरता दिएका छन् ।
हाङखिम दम्पतिले माझमझुवास्थित ठाडे खोल्सामा नीजि लगानीमा आरसीसी पुल निर्माण गरेका छन् । उनीहरुले दुई लाख ५० हजार रुपैयाँको लागतमा ८ मिटर २० सेन्टिमिटर लम्बाई र १ मिटर २० सेन्टिमिटर चौडाइको निर्माण गरेका हुन् ।
पुल निर्माण गर्न छरछिमेक र वारीपारिका इस्टमित्रहरुले पनि सहयोग पनि गरेको उनीहरुले जानकारी दिए ।
उनीहरुलाई गाउँमा लामा कान्छा र लमेनी कान्छी उपनामले चिनिन्छ । हाङखिम दम्पतीले केही वर्षअघि गिताङ खोलामा पनि कटुस जातको काठको साँघु बनाएका थिए ।
पर्यटकीय सम्भावना बोकेको र धार्मिक आस्थाले चिनिने गिताङ खोलाको शीर छिन्तापु डाँडामा रहेको मन्दिर पनि हाङखिम दम्पतिले निर्माण गरेका हुन् ।