आत्मानन्द गोल्डकप : एसएस क्लब काठमाडौं सेमीफाइनल प्रवेश

सोमबारको खेलमा बलका लागि संघर्ष गर्दै एसएक क्लब काठमाडौं (रातो) र खेवाङ स्पोर्टिङ क्लब ताप्लेजुङका खेलाडी । तस्विर : आन्छुमे नसान

माङसेबुङ (इलाम), : एसएस क्लब काठमाडौं इलामको माङसेबुङमा जारी ११ औं संस्करणको आत्मानन्द गोल्डकप फूटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा खेवाङ स्पोर्टिङ क्लब ताप्लेजुङलाई ४–१ गोलको सहज जित दर्ता गर्दै एसएस क्लब काठमाडौंले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको सुरुवाती अग्रता लिएको एसएस क्लब काठमाडौंले उत्तरार्धमा पनि उत्कृष्ठ खेल प्रदर्शन गरेको थियो । फ्रि किकको अवसरलाई सदुपयोग गर्दै काठमाडौंले खेलको २५ औं मिनेटमा नै अग्रता लिएका थिए । खेवाङ स्पोर्टिङ क्लब ताप्लेजुङका खेलाडीले फाउल बनाएपछि पाएको फ्रिककको अवसरलाई काठमाडौंका सुकेन्द्र रम्तेलले सहजै जाली चुमाएका थिए ।

त्यसको ५ मिनेट पछि नै ताप्लेजुङले खेल बराबरीमा ल्यायो । ३० औं मिनेटमा ताप्लेजुङका सुरज धिमालले वान भर्सेज वानको पोजिसनमा सजहै गोल गरी खेल बराबरीमा ल्याएका थिए ।

पहिलो हाफमा १–१ को बराबरी खेलेको ताप्लेजुङले दोश्रो हाफमा भने रक्षात्मक खेल्न समेत सकेन । दोश्रो हाफको नवौं मिनेटमा नै काठमाडौंका अरुण चेम्जोङले गोल गरी टिमलाई अग्रता दिलाए । विपक्षीलाई निरन्तर दवावमा राख्न सफल काठमाडौंले ५ मिनेट पनि बित्न नपाउँदै पुनः गोल गरी अग्रता तेब्बर बनाए । ताप्लेजुङका सन्तोष लिम्बूले १४ औ मिनेटमा पेनाल्टी एरियाबाट सहजै जाली चुमाएका थिए । त्यसको ४ मिनेट पछि काठमाडौंले आत्मघाती गोलको उपहार पाउँदै ४–१ को जित निश्चत गराएका थिए ।

खेलको म्यान अफ दी म्याच विजेता टिमका सुकेन्द्र रम्तेल घोषित भए । उनले नगद १ हजार ६५ रुपैयाँ प्राप्त गरे ।

माङसेबुङ ५ स्थित माङसेबुङ खेल मैदानमा जारी प्रतियोगिता अन्तरगत मंललबार सयपत्री सर्वोत्तममुखी यासोक पाँचगर र खोक्ताप स्पोर्टिङ क्लब धनकुटाबीच प्रतिष्पर्धा हुने आयोजक समितिले जनाएको छ ।

प्रतियोगिताका विजेताले नगद एक लाख ८ हजार ६५ रुपैयाँ तथा उपविजेताले नगद ७५ हजार ६५ रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृठ खेलाडी, उत्कृष्ठ डिफेन्डर र उत्कृष्ठ गोलकिपरले नगद ८/८ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

१७ मंसीरसम्म संचालन हुने प्रतियोगितामा इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, धनकुटा, काठमाडौं र भारतका गरी ८ टिमको सहभागीता छ ।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आत्मानन्द गोल्डकपको ११ औं संस्करण प्रतियोगिता आयोजना गरिएको हो । २०६५ सालदेखि आत्मानन्द लिङदेनको जन्मोत्सवको अवसरमा सुरु भएको बर्सेनि ‘आत्मानन्द गोल्डकप’ को आयोजना गरिदैं आएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार