पाँचथर : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले गरेका प्रतिबद्धता क्रमशः कार्यान्वयन गर्दै अघि बढ्ने बताउनुभएको छ।
पाँचथरको फिदिममा १३४आँै फाल्गुनन्द जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले मुलुकलाई समृद्ध बनाइ छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रक्षामन्त्री पोखरेलले सबै पार्टी मिलेर यो मुलुकलाई समृद्ध बनाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन किरात धर्मका मात्रै गुरु नभएर सबै नेपालीका साझा गुरु रहेको बताउनुभयो। सामाजिक सद्भाव कायम गर्न महागुरु लिङदेनले गरेको योगदान अन्त्यन्तै प्रशंसनीय रहेको बताउँदै उहाँले सरकारले उहाँलाई सदैव सम्मान गरिरहने उल्लेख गर्नुभयो।
कार्यक्रममा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले मुलकमा धेरै कानून बनाउन बाँकी रहेको स्मरण गर्दै क्रमशः सरकारले संविधान कार्यान्वयन गर्दै लगेको स्पष्ट पार्नुभयो।
फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा गुरु आत्मनन्द लिङदेनले निरन्तर हत्या–हिंसाको बाटो बन्द गरी सदाचारको बाटोमा हिँडिरहन महागुरु फाल्गुनन्दबाट प्रेरणा पाइरहुँ भन्ने शुभकामना व्यक्त गर्नुभयो । सो अवसरमा फिदिम–१ स्थित शिवालय छेउमा निर्माण गरिएको सबैभन्दा अग्लो फाल्गुनन्दको शालिक र सुम्हात्लुङ मन्दिरमा रहेको शालिकको अनावरण गरिएको थियो।