नेपाली कांग्रेसमा ‘किङमेकर’ मानिने चक्रप्रसाद बाँस्तोलाको निधन

काठमाडौं : विगत ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको शनिबार राती ९ः२० मा ७४ बर्षको उमेरमा निधन भएको छ ।

बाँस्तोलाको ललितपुर खुमलटारस्थित निवासमै गएराति निधन भएको हो । असहज महसुस गरेपछि उनलाई शनिबार दिउँसो बाँसबारीस्थित न्यूरो अस्पतालमा लगिएको थियो ।

तर अस्पतालले थप उपचार असम्भव रहेको भन्दै डिस्चार्ज गरेपछि उनलाई निवासमै लगिएको थियो । पार्टीका केन्द्रीय सदस्य, परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदूतसमेत भएका नेता बास्तोला प्रजातान्त्रिक आन्दोलनका अगुवामध्ये एक थिए ।

२०६९ साल पुस १४ गते मोरङको विराटचोकमा कूल पूजामा सहभागी हुँदै गर्दा उनलाई मस्तिष्कघात भएको थियो ।

तत्काल धरानमा उपचार गरी आईसीयूमा राख्न सिलिगुढी लगिए पनि त्यहाँ उपचार हुन नसकेपछि एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पताल पु¥याइएको थियो ।

दिल्लीमा लामो समय उपचारपछि काठमाडौं ल्याएर पनि सुधार नभएपछि उनलाई नर्सिङ केयरमा घरमै राखिएको थियो । २०४८ सालमा भारतका लागि नेपालको राजदूत रहेका बास्तोला २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री भएका थिए ।

नेता बास्तोलाको निधनप्रति विभिन्न राजनीतिक दलका शीर्ष नेतादेखि सर्वसाधारणले शोक व्यक्त गरेका छन् ।

कांग्रेसभित्रका कुनै बेलाका बागी र किङमेकर नेताका रूपमा चिनिने उनी शान्ति प्रक्रियाका समेत खम्बा मानिन्थे । उनले तत्कालीन समयमा युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सक्रिय भूमिका खेलेका थिए ।

तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच संवाद गराउने उनी एक सेतु समेत थिए । उनी कोइरालाका अत्यन्तै निकट विश्वासपात्रसमेत मानिन्थे ।

बास्तोला बीपीको प्रेरणाबाट २०१७ सालदेखि राजनीतिमा होमिएका थिए । बीपीबाटै समाजवादी दीक्षा पाएका उनी २०३० सालको विमान अपहरणको एक नाइकेसमेत मानिन्छन् ।

बनारस हिन्दू विश्वविद्यालय (बीएचयू) मा राजनीतिशास्त्रका पोस्टग्राजुएट गरेका उनी २०४८ सालको संसदीय चुनावमा झापाबाट उम्मेदवार भएका थिए तर पराजित भए ।

त्यसपछि तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका पालामा उनी परराष्ट्रमन्त्री भएका थिए । उनी भारतका लागि पूर्वनेपाली राजदूतसमेत थिए ।

सिद्धान्त र दर्शनमा गहिरो रुचि राख्ने उनी कांग्रेसभित्र हक्की स्वभावका नेताका साथै जोखिम मोल्न तयार रहने नेताका रूपमा चिनिन्थे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार