पाँचथर : नमूना शहरको रुपमा विकसित पाँचथरको फिदिम बजारको सडक स्तरोन्नति नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।
नमूना शहरको काम गर्न स्थापना भएको नयाँ शहर आयोजना र फिदिम नगरपालिकाले एकले अर्कोलाई देखाएर काम नगर्दा सडकको स्तरोन्नति हुन नसकेको हो । यसले गर्दा नागरिकलाई सास्ती भएको छ ।
बजारका अधिकांश सडक बिग्रिएका छन् भने ढलको समेत उचित व्यवस्थापन हुन सकेको छैन । खाल्डाखुल्टी परेको सडकमा यातायात सञ्चालन गरिँदा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् ।
नमूना शहर घोषणा भएको ५ वर्ष बित्न लाग्दा पनि अहिलेसम्म यो शहरको सोचेअनुरुपको काम हुन सकेको छैन । फिदिमको गणतन्त्र चोकदेखि शिवालयसम्म जाने सडकको कालोपत्रे गरिएको भए पनि अहिले भत्किएर कच्ची सडकजस्तै बनेको छ ।
नयाँ शहर आयोजनामा बजेट केन्द्रले स्वीकृत नगरिदिएको र यो बारेमा नगरपालिकासँग समन्वय गरेर सडकको काम अघि बढाउने नयाँ शहर आयोजना प्रमुख विश्वराम प्रजापतिले बताए ।