माइजोगमाईमा सामुदायिक भवन उद्घाटन

माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा सामुदायिक भवन उद्घाटन गरिएको छ । सुनगाभा विकास संस्थाको इलामको पहलमा पिएसडी नेपाल  काठमाडौँ अन्तर्गत हाइड्रनवर्ग युनिभर्सिटी जर्मनीका विद्यार्थीहरुको आर्थिक सहयोगमा निर्माण गरिएको माइजोगमाई १ लप्सीबोटे स्थित शान्तिदीप महिला कृषक समुहको भवन बिहिबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

उन्नतिका लागि एकता सिर्जनशील समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ आयोजित कार्यक्रम समुहकी अध्यक्ष टीका निरौलाको अध्यक्षता, माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राइको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश बस्नेत, सुनगाभा विकास संस्थाका सचिव कृष्ण श्रेष्ठको विशेष आथित्यतामा समपन्न भएको हो ।

सो भवन पिएसडी नेपाल काठमाडौँ अन्तर्गत हाइड्रनवर्ग युनिभर्सिटी जर्मनीका विद्यार्थीहरुको ४ लाख, गाउँपालिकाको १ लाख ५० हजार र विभिन्न दाताहरूबाट प्राप्त ६ हजार ६ सय ५० रुपैयाँ सहित जम्मा ५ लाख ५६ हजार ६ सय ५० रुपैयाँको लागतमा निर्माण भएको र हाल सम्म ८८ हजार ८ सय रुपैँया बराबरको जनश्रमदान गरिएको समुहकी अध्यक्ष टीका निरौलाले जानकारी दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष जीत बहादुर राइले  भवन शिलान्यास भएको एक महिना मै  निर्माण समपन्न हुनु एउटा उदाहरणीय काम भएको भन्दै समुहलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि गाउँपालिकाकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। त्यस्तै उक्त भवन निर्माण हुनु नयाँबजार क्षेत्रकै उपलब्धी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश बस्नेतको भनाई रहेको छ ।

महिला सन्दकपुर बहुउद्देश्यीय सहकारी संस्था नयाँबजारकी अध्यक्ष पुनम गुरुङले  समुहमा बसेर महिलाहरुले बचत मात्र नगरी सामाजिक कार्यमा अग्रसर हुनुपर्ने जोड दिँदै समुहको उन्नति प्रगतिको लागि शुभकामना व्यक्त गरिन। नव निर्मित भवन शान्तिदीप महिला समुहका लागि मात्र नभएर समुदायकै लागि भएकाले समुहको नियम बमोजिम नयाँ सदस्यहरुलाई समेत समुहमा प्रवेश गराइने समुहले जानकारी दिएको छ ।

गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी,बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मी लगायत स्थानियको उल्लेखनिय उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य समुहकी सदस्य चन्द्रकला निरौलाले राखेकी थिइन  भने कार्यक्रम शारदा आधारभूत विद्यालयका शिक्षक घनश्याम निरौलाले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार