पाँचथर : पुष्पलाल (मध्यपहाडी) लोकमार्ग आसपासका १० शहरलाई नयाँ शहरको रुपमा विकास गर्ने सरकारी योजनाअनुसार काम भइरहेको पाँचथर सदरमुकाम फिदिममा व्यवस्थित रङ्गशाला निर्माणका लागि यहाँका स्थानीयले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । फिदिम नगरपालिका–५ सरसिउलामा रङ्गशाला निर्माणका लागि स्थानीय जग्गाधनीले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन । १० जना स्थानीय जग्गा धनीले फिदिम नगरपालिकाका नाममा रु ५० लाखभन्दा बढी मूल्य पर्ने उक्त जग्गा प्रदान गरेका हुन । प्रतिरोपनी रु एक लाखमा बिक्री भइरहेको जग्गा स्थानीयवासीले रङ्गशाला निर्माणको कार्य तत्कालै अघि बढाउन सहयोग पु¥याउने उद्देश्यले निःशुल्क प्रदान गरेका हुन ।
जग्गा प्राप्त भइसकेपछि सरकारी निकायबाट रङ्गशाला निर्माणको कार्य अघि बढ्ने स्थानीयवासीको विश्वास छ । रङ्गशाला निर्माणका लागि प्रयास गर्दै आएको नयाँ शहर आयोजनाको कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतिले जग्गा प्राप्ति भई सकेपछि रङ्गशाला निर्माणको कार्य अघि बढ्ने बताए। रङ्गशाला पनि नयाँशहरका लागि आवश्यक पूर्वाधारकै रुपमा पर्ने भएकाले रङ्गशाला निर्माणको कार्य यसै वर्षबाट अघि बढ्ने प्रजापतिले जानकारी दिए ।
नगरपालिकाले पत्र पठाएपछि आयोजना कार्यालयले विस्तृत सर्वेक्षणको कार्य अघि बढाउने छ । नयाँ शहर आयोजनाको कार्यालयको चालू आवको कार्यक्रममा रङ्गशाला निर्माणका लागि विस्तृत सर्वेक्षण गर्ने तथा निर्माणका लागि बहुवर्षीय ठेक्का लगाउने कार्यक्रम समावेश भएकाले ठेक्का प्रक्रिया यही आवभित्र शुरु हुने प्रजापतिले जानकारी दिए ।