नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो : माल्दिभ्ससँग ३-० ले पराजित

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ। बुधबारको खेलमा माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल बाहिरिएको हो।

पहिलो हाफमा १-० ले पछाडि परेको नेपालले खेलको अन्तिम समयमा दुई गोल खाएको हो। खेलको सातौ मिनेटमा पाएको फ्री किकलाई माल्दिभ्सले पहिलो गोलमा परिणत गरेको थियो। दोस्रो हाफको अन्तिम समय ८३ औं र ८५ औं मिनेटमा लगातार दुई गोल गर्दै माल्दिभ्सले जित निश्चित गरेको हो।

हरेक संस्करणमा उपाधि दाबेदार रूपमा आफूलाई प्रस्तुत गर्दै आएको नेपालले अहिलेसम्म उपाधि हात पार्न सकेको छैन।  सन् १९९३ मा सार्क राष्ट्रको फुटबल खेल विकास गर्ने उद्देश्यले सुरु भएको (सार्क गोल्डकप) साफ च्याम्पियनसिपले १२औं संस्करण पार गर्दा नेपाल सेमिफाइनलमाथि जान सकेको छैन।

बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपमा नेपाल यस पटक फेरि सेमिफाइनलबाट यात्रा टुंग्याएको हो।

कठिन मानिएको समूह ‘ए’ बाट प्रतिस्पर्धा गरेको नेपालले समूह चरणमा आफूलाई अब्बल सावित गरे पनि सेमिफाइनलमा निरिह बन्यो । नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलको हार खेपेको थियो ।  नेपाल दोस्रो खेलमा भुटानलाई ४–० गोलले हराएर खेलमा फर्किएको थियो ।

समूहको अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजक बंगलादेशलाई २–० गोलले हराएपछि नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो ।

यसैगरी माल्दिभ्स समूह ‘बी’ को उपविजेतको रूपमा सेमिफाइनलमा पुगेको थियो । तीन टोली सम्मिलित समूहमा माल्दिभ्सले श्रीलंकालाई गोलरहित बराबरीमा रोकेको थियो । दोस्रो खेलमा माल्दिभ्स भारतसँग २–० गोलले पराजित भएको थियो ।

माल्दिभ्स श्रीलंकाको समान एकएक भएपछि माल्दिभ्सले ‘लक्की ड्र’ मा श्रीलंकालाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको थियो । बुधबार नै हुने अर्को सेमिफाइनलमा भारत र पाकिस्तान भिड्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार