चितवनमा प्रशासनको अनुगमन तीब्र, म्याद नाघेका पेयपदार्थ बरामद

चितवन : पूर्वी चितवनको राप्ती नगरपालिका वर्डा नम्बर ५ भण्डारा बजारका विभिन्न पसलहरुबाट म्याद गुज्रिएका पेय पदार्थ बिक्री हुने गरेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सोमबार यहाँ गरिएको संयुक्त बजार अनुगमनका क्रममा प्रायः पसलबाट म्याद गुज्रिएका पेय पदार्थ बिक्री हुने गरेको पाइएको हो ।

चाडपर्वलाई लक्षित गर्दै सोमबार भण्डारा बजारका ९ वटा पसल तथा एक सरकारी विद्यालयमा अनुगमन गरिएको हो । सो क्रममा बढी मात्रामा पेय पदार्थको म्याद सकिएको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक प्रवीणकुमार तिवारीले जानकारी दिए ।

टोलीले भण्डाराका दिदीबहिनी किराना स्टोर्स, बाबा किराना स्टोर्स, शिव किराना पसल, डिएमसी किराना पसल लगायतमा अनुगमन गरेको थियो ।  अनुगमन गरिएका सबै पसलहरुमा मूल्य सूची नभएको, केही पसलहरुले न्यून गुणस्तरको घिउ बिक्रीसमेत गरेको पाइएको खाद्य निरीक्षक तिवारीले बताए ।

तिवारीका अनुसार श्री बिर्तामाई फुडकेम एण्ड व्रेभरेज प्रालि वीरगञ्ज, जयमाता कालिका डेरी उद्योग देवचुली नवलपरासीले अनुज्ञापत्र नलिई उत्पादन गरेको र मिल्क फुड प्रोडक्ट बाराले न्यून गुणस्तर भएको घीउ उत्पादन गरेको र त्यही घिउ व्यवसायीहरुले बिक्री गरिरहेका छन् । कम गुणस्तरीय उत्पादन गरेकै भएर मिल्क फुड प्रोडक्ट करिब १५ दिन अघि शिल गरिसकेको थियो ।

अनुगमन टोलीमा उपभोक्ता अधिकार सरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुषाल, उद्योग वाणिज्य संघ–राप्तीका अध्यक्ष राजकुमार कँडेल, उपाध्यक्ष डिल्लीराम अधिकारी, इलाका प्रहरी कार्यालय भण्डाराका प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार