
पथरी : किरात याक्थुङ चुम्लुङको ३० औं स्थापना दिवस विभिन्न जिल्लाहरुमा मनाएको छ ।
मोरङको पथरीमा भने चु्म्लुङले विविध कार्यक्रम गरि मनाएको छ । कार्यक्रममा चुम्लुङकी केन्द्रीय सदस्य खिममाया लिम्बु, राष्ट्रिय चुम्लुङ सदस्य फिपराज बेघा, प्रदेश सदस्य सन्तोष सिरेङलगायतले चुम्लुङले समाजमा पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रममा छात्रवृद्धि पनि वितरण गरिएको छ । चुम्लुङ इजरायलको छात्रवृद्धि सहयोग कोषले वार्षिक रुपमा वितरण गर्दै आएको छात्रवृद्धि उर्लाबारीका सार्वजनिक माविका कक्षा १ मा अध्यययनरत छात्र नामहाङ लिम्बुलाई वितरण गरिएको छ । लिम्बुलाई ८ हजार नगद हस्तान्तरण गरिएको छ ।
यसैबीच लिम्बु साँस्कृतिक परिषद् मोरङको तदर्थ समिति गठन गरिएको छ । देउमान सिरेङको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । परिषद्को सहसंयोजकत्वमा अगम थोप्रा, सचिवमा विनु नेम्बाङ, कोषाध्यक्षमा शान्तिला मादेम्बा र सदस्यहरुमा आइतहाङ केदेम, छत्र तुम्बाहाङ्फे, दुर्गा योङहाङ, संगीता आङ्बुहाङ, रिता चोङबाङ, ज्योतिकला योङ्हाङ छन् ।
चुम्लुङले १ नम्बर प्रदेशका झापा, सुन्सरी, इलाम, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा, पान्थर ३ नम्बर प्रदेशको काठमाडौं, ललितपुर, भक्तपुर, चितवन देश बाहिर पनि स्थापना दिवस मनाइएको छ । चुम्लुङ (कियाचु) २०४६ साल भदौ १७ गते स्थापना भएको आदिवासी याक्थुङहरूको आदिवासी संस्था हो ।
“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक देश नेपालको प्राचीन किरात वंश मध्येको एक याक्थुङ समुदायको भाषा, लिपि, साहित्य, धर्म, संस्कृति तथा इतिहासको क्षेत्रमा खोज र्पूण अध्ययन, जातिको उत्थान, सांस्कृतिक पुनरजागरण, सामाजिक, आर्थिक विकास, लैङ्गिक समानता तथा यससँग सम्बन्धित अन्य क्रियाकलापहरू सञ्चालन गर्न, वातावरण, स्वास्थ्य, शिक्षा, पर्यावरण, विकास निर्माण क्षेत्रमा कार्य गर्न र देशका अन्य जाति तथा सम्प्रदायसँग सुसम्बन्ध र सद्भावना अभिवृद्धि गर्दै आदिवासी जनजाति अधिकार र मानव अधिकारको घोषणा पत्रलाई अङ्गीकार गरी राष्ट्रिय एकता तथा राष्ट्रिय संस्कृतिको निर्माणमा योगदान पुर्याउन भाषिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनैतिक हक अधिकार प्राप्त गर्नका लागि स्थापित” गर्ने उद्देश्यले स्थापना भएको हो ।



















































