नयाँ बुलन्द
कन्याम : सूर्योदय नगरपालिका वडा नम्बर ७ गोगने स्थित प्रगति बहुउद्देश्यीय दुग्ध सहकारी संस्था, घले धारा विकास टोल संस्था, भाग्योदय आाधारभूत विद्यालय हुँदै राईटोल तथा रमाइलो टोल जोड्ने बाटो अस्तव्यस्त बनेको छ ।
वर्षासँगै आएको भलले कटान गरी पहिरो समेत झरेर बाटो परिएको छ । बाटो पुरिएपछि यस क्षेत्रका बासिन्दाले समस्या झेल्नुपरेको छ । गतवर्ष १० लाख रुपैयाँको लागतमा गुफाटारदेखि प्रगति बहुउद्देश्यीय दुग्ध संस्थासम्म खनिएको बाटो बिग्रिएपछि किसानद्वारा उत्पादित कृषिउपज बजारसम्म पुर्याउन समस्या भएको छ । साथै बिरामीलाई अस्पतालसम्म लैजान समेत समस्या परेको छ ।
यसैगरी भाग्योदय आवसीय विद्यालय र कृष्णाश्रम माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई समेत आवातजावातमा जोखिम देखिएको छ । त्यस्तै टोलमा रहेका विद्युतका पोलहरु पहिरोका कारण ढल्ने अवस्थामा पुगेको छ । जसले मानवीय क्षति हुनसक्ने त्रास समेत बढेको स्थानीय बताउँछन् ।
व्यापारीले बिक्री गर्न संकलन गरेका सागसब्जी र फलफूलहरु कन्यामसम्म ढुवानी गर्न अप्ठ्यारो परेको स्थानीय व्यापारीहरु बताउँछन् । समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएको अमृत कटवालले बताए ।