झापा : विमला लिम्बूको उमेर ५५ वर्ष पुग्यो । केही वर्ष अघिसम्म जाँडरक्सी बेचेर घरखर्च चलाउथिन् । क्रिस्चियन धर्ममा लागेर उनले यो व्यापार त्यागिन् । पछिल्ला केही वर्षयता मुडा बुन्न थालेकी उनी यही पेसाबाट पाँच जनाको परिवार पाल्दै छिन् । एक बिटा मुडाबाट १७ देखि २३ सय रुपैयाँसम्म कमाइ हुने उनले बताइन् ।
लिम्बू मात्र होइन, अर्जुनधारा नगरपालिकास्थित एउटा सिंगो गाउँका बासिन्दा नै मुडा बुनेर मनग्ये आम्दानी गरिरहेका छन् । अर्जुनधारा–१० स्थित कालीझोडाका झन्डै पाँच सय घरपरिवारले वर्षौंदेखि यही पेसाबाट गुजारा चलाइरहेका हुन् ।
कालीझोडाका अधिकांश पुरुष बिदेसिएका छन् । गाउँमा रहेका महिला, वृद्धवृद्धा र स–साना बालबालिका पनि मुडा बुन्न सिपालु छन् । ०६२ सालयता यो गाउँका बासिन्दाको पेसा नै मुडा बुन्ने हो । बालबालिकाहरू टिफिन खाने पैसा बिहान–बेलुका मुडा बुनेरै जुटाउँछन् । यो गाउँलाई धेरैले ‘मुडा बस्ती’ नामले चिन्छन् ।
कलेज पढ्ने किशोरीहरू पनि दिउँसोभरी मुडा बुनेको पैसाले कलेजको मासिक शुल्क तिर्छन् । वृद्धवृद्धाले पनि आफैँले आम्दानी गरेको पैसाले मिठो मसिनु खान पाएका छन् । महिलाले भान्सा र छोराछोरीलाई समेत समय दिएर दिनभरी मुडा तयार पार्नमै समय खर्चन्छन् ।
बिहान उठेर कलेज पढ्न बिर्तामोडसम्म धाउने सपना राई पनि दिउँसो मुडा बुनेर बस्छिन् । कन्काई कलेजमा अध्ययनरत् उनी कलेजबाट घर पुगेपछि दिनभरीमा १२ वटासम्म मुडा तयार गर्छिन् । ‘पढाइ खर्च र कलेजमा खाजा खान मुडा बुनेकै पैसाले पुग्छ,’ उनले भनिन् ।
०६१ सालदेखि मुडा बनाउन सुरु गरेकी सोही स्थानकी टीका आचार्यलाई अहिले छोरीले पनि सघाउँछिन् । आमाछोरी मिलेर दिनमा २०
वटासम्म मुडा तयार पार्ने गरेको उनले बताइन् । मुडा बुनेरै टीका हप्तामा पाँच हजार रुपैयाँ कमाउँछिन् । सोही स्थानमा १५ वर्षदेखि मुडा बुन्दै आएकी कुमारी राई यही पेसाबाट चार जनाको परिवार चलाउँदै छिन् । एउटा छोरालाई निजी विद्यालय पढाएको उनले सुनाइन् ।
गाउँमा ५÷६ जना मुडा व्यवसायी छन् । तिनैमध्येकी एक हुन्, पुष्पादेवी थापा मगर । उनी भारतबाट सामान ल्याएर गाउँका बासिन्दालाई मुडा बुन्न दिन्छिन् । तयार भएको मुडा उनी बिक्रीका लागि काठमाडौं पठाउँछिन् ।
‘हप्तामा दुई गाडीसम्म मुडा पठाउँछु, महिनामा ५÷६ पटकसम्म पठाइन्छ,’ उनी भन्छिन्, ‘एकपटकमा ६ सयवटा मुडा पठाउँछु ।’ गाउँमा मुडा तयार पारिदिनेलाई उनी बिटाको हिसाबले ज्याला दिन्छिन् । ‘सिन्का, धागो, टायर, रिङमै किनेर दिन्छु, उनीहरू मुडा तयार परिदिन्छन्, म ज्याला दिन्छु,’ १४ वर्षदेखि मुडाको व्यापार गरिरहेकी पुष्पाले भनिन्, ‘यही व्यवसायले छोराछोरी पढाउँदै छु ।’
पुष्पाको पाँच जनाको परिवार छ । गतवर्ष पति बितेपछि उनले नै यो व्यवसाय सम्हालेकी छिन् । छोराछोरी कोही बोर्डिङ पढ्दै छन्, कोही कलेज । सबै खर्च उनले मुडा व्यापारबाट धानेकी छन् । ‘हाम्रो खेती भने पनि यही हो, धन सम्पत्ति नै यही हो,’ पुष्पा भन्छिन्, ‘अन्त कमाउन गइएन, अब अरू काम गर्न पनि सकिँदैन ।’
भैँसीको छाला भारत निकासी गर्दा वर्षौंअघि यही गाउँका खड्गबहादुर सुनाम नाम गरेका व्यक्ति जेल परे । जेलमा उनले मुडा बुन्न सिके । जेलबाट छुटेर घर फर्किएपछि उनले मुडा बुनेर व्यापार गर्न थाले । खड्गबहादुरले मुडा तयार पारेको छेउमा गएर हेर्थे, खड्गका छिमेकी दिलीप राई ।
खड्गबहादुरबाट मुडा बुन्ने सीप सिकेका तिनै दिलीपले अहिले गाउँका धेरैजनालाई सिकाइसके । ६४ वर्षका दिलीपले मुडा बुन्न थालेकै २० वर्ष भयो । मुडा बुन्न सिक्नुभन्दा अगाडि उनी केराको व्यापार गर्थे । खड्गबहादुरसँग आफूले ४५ सालतिर मुडा बुन्न सिकेको दिलीप बताउँछन् ।
‘यो सार्कीले गर्ने काम हो भनेर पहिले धेरैले हिंसा गर्थे,’ आँगनमा बसेर मुडा बुन्दै गरेका दिलीपले भने, ‘अहिले मसँगै काम सिकेर धेरैले आम्दानी गर्दै छन्, सबैको घरमा यही पेसा छ ।’ २५ जनाभन्दा बढीलाई आफूले मुडा बुन्न सिकाएको उनले सुनाए । मुडा बुन्न सिकाइमाग्न आउने अधिकांशले कुखुराको भाले कोसेली बोकेर आउने गरेको उनको स्मरणमा ताजै छ ।
आफ्नै घरमा बसिबसी मुडा बुनेर छोराछोरी पढाउन, राम्रो लाउन र मीठो खान सहज भएको उनी बताउँछन् । दिलीपको ११ जनाको परिवारमा सबैले मुडा बुन्छन् । साना नातिनातीनाले पनि मुडा बुन्न सिकेको उनले सुनाए ।
दिलीपको घरमा तयार पारिएको मुडा गाडी आएर महिनामा ६ देखि १० ट्रिपसम्म लैजान्छ । नारायणघाट, पोखरा, बुटवल, काठमाडौं र खासासम्म मुडा जाने गरेको उनले बताए । उनले मुडा बुन्न सिक्दा मुडाको मूल्य ५५ रुपैयाँ थियो । अहिले मूल्य बढेर २ सय रुपैयाँ पुगिसक्यो । ‘यही पेसाले घर व्यवहार राम्ररी चलेको छ, अरूलाई माग्नु परेको छैन,’ उनले भने, ‘सहकारीमा खाता खोलेका छौँ, प्रत्येक दिन बचत गर्छौं, दिनै मासुभात खान पुगेको छ ।’ सौर्य दैनिकबाट